२०८३ साउन १० , आइतबार
सुर्खेतका डीएसपीकाे सरूवा

बुटवल गए माेहन, आउँदैछन्न बाेहरा 



सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनजंग बुडथापाको रुपन्देहीको बुटवलमा सरुवा भएको छ। नेपाल प्रहरी प्रधान कार्यालयले जेठ १ गतेदेखि लागू हुने गरी देशभरका १४९ जना डीएसपीहरूको एकैसाथ गरेको सरुवा सूचीमा बुडथापा पनि समेटिएका हुन्। डीएसपी बुडथापालाई राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रुपन्देही, बुटवलमा पठाइएको छ।

बुटवल सरूवा भएर जान थालेका डीएसपी माेहन बुढथापालाइ विदाइ गर्दै कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी

करिब १३ महिनासम्म जिल्ला प्रहरी कार्यालय सुर्खेतमा कार्यरत रहँदा डीएसपी बुडथापाले शान्ति सुरक्षा कायम गर्नुका साथै सूचना अधिकारीको रूपमा समेत उल्लेखनीय भूमिका निर्वाह गरे। सादा जीवन, उच्च विचारका धनी बुडथापाले आफ्नो कार्यकालमा व्यावसायिक कार्यकुशलता प्रदर्शन गर्दै प्रहरी सङ्गठनप्रति आम नागरिकको जनविश्वास बढाउन महत्त्वपूर्ण योगदान दिएका थिए।

विभागीय मूल्य मान्यता अनुरूप कर्तव्यनिष्ठ र अनुशासित रहँदै उनले सुर्खेतका विभिन्न सरकारी निकाय, स्थानीय प्रशासन र सङ्घ-संस्थाहरूबिच बलियो समन्वय तथा सहकार्य स्थापित गर्न प्रभावकारी भूमिका खेलेका थिए। डीएसपी बुडथापाको सरुवा भएसँगै सुर्खेतको नयाँ डीएसपीको रूपमा कविन्द्रसिंह बोहरा आउने भएका छन्। बर्दियाको इलाका प्रहरी कार्यालय राजापुरमा कार्यरत डीएसपी बोहरालाई प्रधान कार्यालयले सुर्खेतमा सरुवा गरेको हो। सुर्खेतका नयाँ प्रहरी प्रमखु/सूचना अधिकारीका रूपमा डीएसपी बोहराले छिट्टै नै जिल्लामा आएर आफ्नो कार्यभार सम्हाल्ने जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

प्रकाशित मिति : २०८३ जेठ ९ गते शनिबार