सुर्खेत । कर्णाली प्रदेशको प्राकृतिक, धार्मिक तथा सांस्कृतिक वैभवलाई विश्वमाझ चिनाउने उद्देश्यका साथ वीरेन्द्रनगरमा ‘प्रथम कर्णाली पर्यटन महोत्सव’ सुरु भएको छ। कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले एक विशेष समारोहका बिच महोत्सवको औपचारिक उद्घाटन गरेका हुन्।
नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपालिकाको संयुक्त आयोजना तथा दैलेखको दुल्लु नगरपालिका र गुराँस गाउँपालिकाको सह-आयोजनामा यो महोत्सव सञ्चालन भएको हो।

महोत्सवको उद्घाटन गर्दै मन्त्री सुरेश अधिकारीले कर्णाली प्रदेशको आर्थिक समृद्धिको बलियो आधार पर्यटन क्षेत्र नै भएको बताए। कर्णाली केवल पर्यटकीय गन्तव्य मात्र नभएर नेपालकै मौलिक संस्कृति र सभ्यताको जननी समेत रहेकाले यसको संरक्षण र संवर्धन नै प्रदेशको मुख्य पहिचान भएको उनको भनाइ थियो।
”कर्णालीका नयाँ र पुराना पर्यटकीय गन्तव्यहरूको पहिचान गर्दै प्रदेश सरकार ठोस योजनाका साथ अगाडि बढिरहेको छ,” मन्त्री अधिकारीले भने, “अब सरकारी निकाय, निजी क्षेत्र र सरोकारवाला सबैको सहकार्यबाट यसको देश-विदेशमा व्यापक प्रचार-प्रसार गरी आर्थिक विकासमा टेवा पुर्याउन आवश्यक छ। त्यसका लागि सरकार लगानीको वातावरण बनाउन प्रतिबद्ध छ।”
आगामी आइतबारसम्म सञ्चालन हुने यस महोत्सवको मुख्य आकर्षण अन्तर्राष्ट्रिय तथा अन्तर-प्रदेशीय समन्वय बनेको छ। महोत्सवका संयोजक तर्कबहादुर शाहीका अनुसार कर्णालीको पर्यटनलाई सिधै छिमेकी मुलुकसँग जोड्न यस पटक विशेष पहल गरिएको छ। महोत्सवमा सहभागी हुन भारतको उत्तर प्रदेश, उत्तराखण्ड र नयाँ दिल्लीबाट ठुलो सङ्ख्यामा पर्यटन व्यवसायी, सम्भावित लगानीकर्ता, ट्राभल भ्लगर तथा पर्यटन क्षेत्रका विज्ञहरू, नेपालका छिमेकी प्रदेशहरू (लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश) का पर्यटन व्यवसायी तथा पर्यटनसँग सम्बन्धित सङ्घ-संस्थाका प्रतिनिधिहरू छन्र ।

महोत्सव अवधिभर केवल सांस्कृतिक प्रदर्शनी मात्र नभई कर्णालीको पर्यटन प्रवर्द्धन र यसका दीर्घकालीन सम्भावनाबारे सरोकारवालाहरूबिच बृहत् अन्तर्क्रिया तथा कार्यशालाहरू गरिने आयोजकले जनाएको छ। महोत्सवमार्फत कर्णालीका प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा र्याफ्टिङ, ट्रेकिङ जस्ता साहसिक पर्यटन क्षेत्रको सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ब्राण्डिङ गर्ने लक्ष्य राखिएको संयोजक शाहीले जानकारी दिए। विदेशी तथा स्वदेशी पर्यटन व्यवसायीहरूको प्रत्यक्ष उपस्थितिले कर्णालीका मानसरोवर मार्ग, रारा, शे-फोक्सुण्डो, काँक्रेविहार तथा दुल्लुको ऐतिहासिक क्षेत्रको प्रचारमा तत्कालै ठुलो सघाउ पुग्ने विश्वास लिइएको छ।
प्रतिक्रिया दिनुहोस्