सुर्खेत । कर्णाली प्रदेशको प्रमुख हवाई प्रवेशद्वारका रूपमा रहेको सुर्खेत विमानस्थलबाट सञ्चालन हुँदै आएको निःशुल्क सटल बस सेवाको रुट विस्तार गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले बिहीबार विमानस्थल र सटल बस सेवाको स्थलगत अनुगमन गरेपछि यात्रुहरूको सुविधाका लागि सेवा विस्तार गर्न निर्देशन दिएका हुन्।

सचिवको निर्देशनलगत्तै सुर्खेत नागरिक उड्डयन कार्यालयका विमानस्थल प्रमुख हिराजन काफ्लेले बिहीबार नै एक सूचना जारी गर्दै जेठ ८ गते (शुक्रबार) देखि लागू हुने गरी सटल बसको नयाँ रुट र सेवा विस्तार गरिएको जानकारी दिएका छन्।
यसअघि यो निःशुल्क सटल बस सेवा विमानस्थलदेखि तीनकुने चोकसम्म मात्र सीमित थियो। अब विस्तार गरिएको नयाँ रुट अनुसार बस सुर्खेत विमानस्थलबाट छुट्ने छ र कालुन्चोक, घण्टाघर चोक, मङ्गलगढी चोक हुँदै पुनः तीनकुने चोक सम्म सञ्चालन हुने छ। यसले गर्दा यात्रुहरूलाई वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रसम्म पुग्न निकै सहज हुने भएको छ।
काठमाडौँबाट सुर्खेतका लागि दैनिक नियमित उडानहरू हुने र यहाँबाट कर्णालीका हिमाली जिल्लातर्फ जाने यात्रुहरूको सङ्ख्या बढ्दै जाँदा विमानस्थल आसपास यातायात व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको थियो।
यात्रुहरूको यही मर्कालाई बुझेर सेवा विस्तार गरिएको पर्यटन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले बताए। “विशेषगरी आन्तरिक हवाई यात्रु, बाह्य पर्यटक, ज्येष्ठ नागरिक तथा पहिलो पटक सुर्खेत आउने यात्रुहरूलाई लक्षित गर्दै यो रुट विस्तार गरिएको हो,” सचिव निरौलाले भने, “यसबाट यात्रुहरूले विमानस्थलबाट बजारसम्म पुग्न महँगो निजी सवारी (ट्याक्सी आदि) प्रयोग गर्नुपर्ने बाध्यता कम हुने विश्वास हामीले लिएका छौँ।”
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरसँग विमानस्थलको पहुँच यसरी थप व्यवस्थित र सुलभ हुँदा यहाँको पर्यटन, व्यापार तथा सेवा क्षेत्रलाई समेत प्रत्यक्ष लाभ पुग्ने स्थानीय व्यवसायीहरूले बताएका छन्।
प्रतिक्रिया दिनुहोस्