सुर्खेत । फुटपाथ व्यवस्थापनका नाममा नगर प्रहरीले काफल बेच्ने महिलामाथि गरेको दुर्व्यवहारको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि वीरेन्द्रनगर नगरपालिकाले माफी माग्दै क्षतिपूर्ति स्वरूप ती महिलालाई आर्थिक सहयोग गरेको छ।
वीरेन्द्रनगरको बसपार्क अगाडि सडकमा गुडिरहेको गाडीबाट ओर्लिएर नगर प्रहरीले कालिकोट घर भई वीरेन्द्रनगरमा काफल बेचिरहेकी धमिला चौलागाईंको एक डालो काफल सडकमा घोप्ट्याइदिएका थिए। उक्त घटनाको भिडियो बाहिरिएपछि सामाजिक सञ्जालमा नगर प्रहरी र स्थानीय सरकारको सर्वत्र कडा आलोचना र निन्दा भएको थियो। चौतर्फी विरोध भएपछि नगरपालिकाले उक्त दुर्व्यवहारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। नगरपालिकाले डालो घोप्ट्याउने र दुर्व्यवहार गर्ने नगर प्रहरीलाई तत्काल आन्तरिक कारबाही गर्ने निर्णय गरेको छ।

यसै गरी, पीडित महिला धमिला चौलागाईंको जीविकोपार्जनमा परेको असरलाई ध्यानमा राख्दै नगरपालिकाका तर्फबाट १० हजार रुपैयाँ सहयोग स्वरूप प्रदान गरिएको नगर प्रमुख (मेयर) मोहनमाया ढकालले जानकारी दिइन्। यसका साथै, नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूले व्यक्तिगत तर्फबाट थप १ हजार ५ सय रुपैयाँ बराबरको काफल किनेर उनलाई सहयोग गरेका छन्।
मेयर मोहनमाया ढकालले यो घटना नियतवश नभए पनि नगर प्रहरीबाट भएको व्यवहार गलत भएको र त्यसमा सुधार गरिने बताइन्। वीरेन्द्रनगरलाई व्यवस्थित बनाउन हाल फुटपाथ व्यवस्थापनको काम भइरहेको भन्दै उनले नागरिकलाई सास्ती नहुने गरी काम गर्न निर्देशन दिइएको स्पष्ट पारिन्।
त्यस्तै, नगरपालिकाका सूचना अधिकारी टंकप्रकाश लामिछानेले बसपार्क क्षेत्रमा हुने अत्यधिक भीडभाड र दुर्घटनाको जोखिम न्यूनीकरणका लागि नियमित रूपमा फुटपाथ व्यवस्थापन गर्दै आएको भए पनि स्थलगत रूपमा संयमता अपनाउन नसक्दा यस्तो अप्रिय घटना हुन पुगेको स्वीकार गरे।
प्रतिक्रिया दिनुहोस्