२०८३ जेठ २६ , मंगलबार
खेलकुद पत्रकार मञ्चकाे दाेस्राे साधारणसभा

अध्यक्षमा शाही निर्वाचित, ‘पल्सर अवार्ड’ कर्णालीमा गर्ने घाेषणा



सुर्खेत । नेपाल खेलकुद पत्रकार मञ्च (NSJF) समन्वय शाखा सुर्खेतको अध्यक्षमा नवीन शाही निर्वाचित भएका छन्। बुधबार वीरेन्द्रनगरमा सम्पन्न मञ्चको दोस्रो साधारण सभा तथा अधिवेशनले शाहीको नेतृत्वमा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको हो।

मञ्चको उपाध्यक्षमा रमा केसी, सचिवमा अप्सरा विष्ट, कोषाध्यक्षमा सिर्जना बुढाथोकी र सह-सचिवमा नवीन सुवेदी निर्वाचित भएका छन्। यस्तै, कार्यसमिति सदस्यहरूमा राकेश पौडेल (तिलक), टेकराज केसी, भावना राना र मिलन श्रेष्ठ चयन भएका छन्।

अधिवेशनको उद्घाटन सत्रमा मञ्चका निवर्तमान अध्यक्ष भानुभक्त अधिकारीले खेलकुद पत्रकारिताको बढ्दो महत्त्व र यस क्षेत्रमा पत्रकारहरूले निर्वाह गर्नुपर्ने जिम्मेवारीबारे प्रकाश पारेका थिए।

कार्यक्रमका विशिष्ट अतिथि कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव रवीन्द्र चन्दले कर्णालीका खेलाडीहरूलाई राष्ट्रिय स्तरसम्म पुर्‍याउन र उनीहरूको व्यावसायिक ‘प्रोफाइल’ निर्माण गर्न खेलकुद पत्रकार मञ्चसँग सहकार्य र समन्वय गर्न परिषद् सधैँ तयार रहेको बताए। कर्णालीमा रहेका लोपोन्मुख तथा परम्परागत खेलहरूको संरक्षण र विकासका लागि पत्रकारहरूले विशेष कलम चलाउनुपर्नेमा जोड दिँदै उनले आगामी दिनमा देशकै प्रतिष्ठित ‘पल्सर स्पोर्ट्स अवार्ड’ कर्णाली प्रदेशमै आयोजना गर्न पहल भइरहेको घोषणा गरे।

अतिथिहित नव निर्वाचित‌ खेलकुद पत्रकार मञ्चका‌ पदाधिकारी तथा सदस्यहरु

मञ्चका केन्द्रीय प्रतिनिधि एवं केन्द्रीय सदस्य नवीन लुइँटेलले सुर्खेतमा आयोजना हुन गइरहेको ‘दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता’लाई भव्य रूपमा सम्पन्न गर्न खेलकुद पत्रकारहरूको भूमिका महत्त्वपूर्ण हुने बताए। समग्र खेल क्षेत्र र खेलाडीको वृत्ति विकासमा खेल पत्रकारिताको योगदान अतुलनीय रहेको उल्लेख गर्दै उनले सुर्खेतमा खेल पत्रकारिताको संस्थागत विकासका लागि क्षमता अभिवृद्धि तालिम र फेलोसिप जस्ता कार्यक्रम सञ्चालन गर्न सुझाव दिए। साथै, खेलकुद विकास परिषद्ले नै बजेट व्यवस्थापन गरेर खेल क्षेत्रमा योगदान पुर्‍याएका पुराना खेलाडीहरूको खोजमूलक रिपोर्टिङ गराउन उनले आग्रह गरे।

नेपाल पत्रकार महासङ्घ सुर्खेतका अध्यक्ष सुशीलराज शर्माले मोफसलमा रहेर विधागत (खेलकुद) पत्रकारिता गर्नु निकै चुनौतीपूर्ण रहेको धारणा राखे। सुर्खेतका पत्रकारहरूले विगत लामो समयदेखि खेलकुद क्षेत्रको विकासका लागि निरन्तर रिपोर्टिङ गर्दै आएको स्मरण गराउँदै उनले पछिल्लो समय राज्य नै मिडिया हाउसहरू बन्द गराउने खेलमा लागेको आरोप लगाए। केन्द्र सरकारकै सिको गर्दै प्रदेश सरकारले समेत लोककल्याणकारी विज्ञापन रोकेर सञ्चार क्षेत्रलाई धराशायी बनाउन खोजेको भन्दै अध्यक्ष शर्माले दुःख व्यक्त गरे।

प्रकाशित मिति : २०८३ जेठ ६ गते बुधबार