२०८३ साउन १० , आइतबार
कांग्रेस कर्णाली प्रदेशद्वारा १० बुँदे अवधारणा पत्र जारी

१५ औँ महाधिवेशनलाई ‘एकताको महाधिवेशन’ बनाउन माग



वीरेन्द्रनगर, सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमिति कार्यसमितिले पार्टीभित्रको आन्तरिक एकता सुदृढीकरण, आसन्न महाधिवेशन र समसामयिक राजनीतिक तथा आर्थिक मुद्दाहरूलाई समेट्दै १० बुँदे विशेष अवधारणा पत्र (दश सूत्र-२०८३) सार्वजनिक गरेको छ। जेठ २ र ३ गते प्रदेश राजधानी वीरेन्द्रनगरमा सम्पन्न प्रदेशस्तरीय विचार गोष्ठीमार्फत कांग्रेस कर्णाली प्रदेशले पार्टीको भावी कार्यदिशा तय गरेको हो।

​पार्टीका संस्थापक नेताहरूको आदर्श र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको शालिन नेतृत्वबाट आलोकित हुँदै प्रदेश समितिले राष्ट्रियता, लोकतन्त्र र समाजवादप्रतिको प्रतिबद्धता दोहोर्‍याएको छ।

​१५ औँ महाधिवेशन र आन्तरिक एकताको सवाल

​अवधारणा पत्रको मुख्य जोड पार्टीको १५ औँ महाधिवेशनमा केन्द्रित छ। कर्णाली कांग्रेसले १५ औँ महाधिवेशनलाई ‘एकताको महाधिवेशन’का रूपमा सम्पन्न गर्न पार्टी सभापति गगनकुमार थापासँग जोडदार माग गरेको छ। शीर्ष नेता तथा पदाधिकारीहरूसँग सघन संवाद गरी विश्वसनीय र निष्पक्ष वातावरण बनाउन नेतृत्वदायी पहल कदमी लिन सभापतिलाई आग्रह गरिएको छ।

​कर्णालीको भौगोलिक विकटता, शैक्षिक र सामाजिक अवस्था तथा सूचना प्रविधिको न्यून पहुँचलाई ध्यानमा राख्दै हाल पुनः नवीकरण गर्ने गरी सुरु गरिएको नवीकरण तथा अद्यावधिक गर्ने कार्य तत्काल स्थगित गर्न र सहमतिका आधारमा प्रक्रिया अगाडि बढाउन माग गरिएको छ। साथै, केन्द्रीय अनुशासन समितिले देशभरका नेता तथा कार्यकर्तामाथि गरेको कारबाही र मागिएका स्पष्टीकरणहरू फिर्ता लिई वृहत् एकताको वातावरण बनाउन आह्वान गरिएको छ।

​युवा प्रतिनिधित्व, समावेशिता र भू-राजनीति

​कांग्रेस कर्णाली प्रदेशले ‘कदमजम’ (कर्णाली, दलित, महिला, जनजाति, मधेशी लगायत) समावेशिताको सिद्धान्तलाई पूर्ण कार्यान्वयन गर्दै पार्टीका हरेक तहमा न्यूनतम २५ प्रतिशत युवाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेको छ। त्यस्तै, प्रवासी नेपालीहरूलाई राष्ट्रसँग जोड्ने सिर्जनशील सोच बनाउन केन्द्रीय नेतृत्वलाई आग्रह गरिएको छ।

​भू-राजनीतिक संवेदनशीलतालाई बुझ्दै नेपालको सार्वभौमसत्ता र स्वतन्त्रता रक्षाका लागि ‘आफ्नो राष्ट्र पहिलो’ भन्ने साझा दृष्टिकोण अपनाउनु पर्नेमा दस्ताबेजले जोड दिएको छ। लोकतान्त्रिक शक्तिहरूबीच साझा संयन्त्र निर्माण गरी तत्काल प्रभावकारी पहल गर्न समेत भनिएको छ।

​प्रधानमन्त्रीको व्यवहारप्रति दुःख

​अवधारणा पत्रको बुँदा नम्बर ५ मा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम वाचन गर्दा सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहले देखाएको व्यवहारप्रति गम्भीर आपत्ति जनाइएको छ। प्रधानमन्त्रीको व्यवहार अस्वाभाविक, असंसदीय र अमर्यादित रहेको ठहर गर्दै यसले सिंगो जननिर्वाचित संसद्को उपहास र अपमान गरेको भन्दै कर्णाली प्रदेश कांग्रेसले दुःख व्यक्त गरेको छ।

​यसका साथै, दस्ताबेजमा समेटिएका अन्य महत्वपूर्ण आर्थिक तथा सामाजिक मुद्दाहरू पनि समेटिएका छन्। जसमा पछिल्लो समय महँगीको मारमा परेका जनतालाई मुक्ति दिलाउन केन्द्रीय नेतृत्वले आवश्यक पहल गर्नुपर्ने, अध्यादेशमार्फत हनन गरिएका पेशाकर्मीहरूको ट्रेड युनियन हक अधिकार यथावत सुनिश्चित गर्नुपर्ने, पूर्व मनसुनबाट प्रभावित जनसमुदायलाई राहत दिन र सम्भावित प्राकृतिक प्रकोपबाट जनधनको सुरक्षाका लागि तयारी अवस्थामा रहन केन्द्रीय कार्यसमितिलाई अनुरोधका साथै भ्रष्टाचार नियन्त्रणमा सशक्त भूमिका खेल्नुपर्ने र आगामी आव २०८३/०८४ को बजेटमा कर्णालीको विकासका लागि उल्लेखनीय बजेट व्यवस्था गर्न सरकारसँग आवश्यक समन्वय गर्नुपर्ने उल्लेख छ।

​’जेनजी’ आन्दोलनका घाइतेप्रति सहानुभूति, देउवा दम्पतीमाथिको आक्रमणको भर्त्सना

​अवधारणा पत्रको अन्त्यमा, ‘जेनजी’ (Gen Z) आन्दोलनका क्रममा शाहदत प्राप्त गर्ने शहीदहरू प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

​यसै सन्दर्भमा, नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र निवर्तमान केन्द्रीय सदस्य डा. आरजु देउवामाथि सोही आन्दोलनका नाममा भएको ‘निन्दनीय र सङ्घातिक आक्रमण’को घोर भर्त्सना गरिएको छ। हाल उपचारका लागि विदेशमा रहेका पूर्व सभापति देउवाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विज्ञप्ति जारी गरिएको छ।

प्रकाशित मिति : २०८३ जेठ ३ गते आइतबार