सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तत्कालीन महासचिव, जननेता मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३३ औं स्मृति दिवसका अवसरमा आज सुर्खेतमा विविध कार्यक्रम गरी उनीहरूको स्मरण गरिएको छ।

दिवसका अवसरमा एमाले सुर्खेतका अध्यक्ष कुलमणि देवकोटा र उपाध्यक्ष मोहनसिंह बडुवालको अगुवाइमा अस्पताल पुगेका नेता तथा कार्यकर्ताहरूले त्यहाँ उपचाररत् बिरामीहरूलाई फलफूल वितरण गरेका छन्। सामाजिक सेवाभावका साथ अस्पतालका बिरामीहरूलाई फलफूल बाँडेर नेताद्वयप्रति सम्मान व्यक्त गरिएको एमाले सुर्खेतले जनाएको छ।
त्यसअघि वीरेन्द्रनगरको हटियालाइनस्थित पार्टी कार्यालयमा आयोजित विशेष स्मृति सभामा एमाले नेता तथा कार्यकर्ताहरूले दिवङ्गत नेताद्वय मदन र आश्रितको तस्बिरमा माल्यार्पण गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए। सो क्रममा नेताहरूले नेपाली कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक क्रान्तिमा दुवै नेताले पुर्याएको योगदानको चर्चा गरेका थिए।
वि.सं. २०५० साल जेठ ३ गते चितवनको दासढुङ्गामा भएको रहस्यमय जिप दुर्घटनामा नेता भण्डारी र आश्रितको असामयिक निधन भएको थियो। स्वर्गीय मदन भण्डारीलाई एमालेले नेपाली मौलिकताको राजनीतिक मार्गचित्र ‘जनताको बहुदलीय जनवाद’ (जबज) का प्रणेताका रूपमा उच्च सम्मानका साथ मान्दै आएको छ।
प्रतिक्रिया दिनुहोस्