
तीजकै अवसरमा आज सुर्खेतका विभिन्न स्थानमा तीज विशेष कार्यक्रमको आयोजना गरिएको छ । सुर्खेतको वीरेन्द्रनगर वडा नं १ ले बाँङ्गेसिमलस्थित टेम्पो पार्कमा तीज सद्भावना पर्वका विशेष कार्यक्रम आयोजना गरेको छ । वडाध्यक्ष दिनेश खत्रीले विद्यालय, सहकारी र विभिन्न संघसंस्थासँगको सहकार्यमा तीज सद्भाव कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
सुर्खेत ।आज हरितालीका अर्थात तीज पर्व । नेपाली हिन्दु नारीहरुको हर्ष र खुशीको दिन । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्वकाे अवसरमा देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन्। तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाइन् ।
पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रुपमा प्राप्त गरिन् ।
यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज) को व्रत लिने प्रचलन शुरु भएको धर्मशास्त्रीय मत छ । संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ। जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ ।
केही वर्ष अघिसम्म नेपाली हिन्दू महिलाले मनाउने धार्मिक एवम् सांस्कृतिक महत्व बोकेको पर्व हरितालिका तीज नजिकिँदै गर्दा गाउँ, सहर, गल्ली चोक, घरघरमा यस्तै गीतहरु गुञ्जन्थे । तीजका यस्ता गीतले महिलाले सासु/ससुरा र श्रीमानको खटनले मन लागेको बेलामा माइत जान नपाएका, माइतीबाट बुबा, दाजुभाइ लिन नआएका पीडा अभिव्यक्त गरेका हुन्थे तर, अब त्यो समय रहेन । नेपाली नारीहरुको महान् चाड तीजको ऐतिहासिक मौलिकपन दिन प्रतिदिन खस्किँदै जान थालेको छ । पछिल्लो समय तीज पर्व मनाउने शैलीमा तडकभडक र विकृति बढ्दै गएको गुनासो व्यापक बन्दै जान थालेको छ ।
टोलटोलमा तीज विशेष कार्यक्रम
तीजकै अवसरमा आज सुर्खेतका विभिन्न स्थानमा तीज विशेष कार्यक्रमको आयोजना गरिएको छ । विभिन्न टोल तथा समूहले आफ्नो क्षेत्रमा तीज विशेष कार्यक्रम गरेका हुन् । अघिल्ला वर्षहरुमा सुर्खेत खुल्ला मञ्जमा तीज प्रतियोगिता नै गर्ने चलन थियो । यस वर्ष भने प्रतियोगिताको तयारी छैन । यद्यपी ठूलो सार्वजनिक क्षेत्र भएका कारण सबै दिदी बहिनीहरु भेला भएर तीज पर्व मनाउन पाउने छन् ।
यता सुर्खेतको वीरेन्द्रनगर वडा नं. १ ले बाँङ्गेसिमलस्थित टेम्पो पार्कमा तीज सद्भावना पर्वका विशेष कार्यक्रम आयोजना गरेको छ । वडाध्यक्ष दिनेश खत्रीले विद्यालय, सहकारी र विभिन्न संघसंस्थासँगको सहकार्यमा तीज सद्भाव कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
तीजका गीतमा वर्गीय प्रभाव
रातो सारी पहिरिएर सुखदुःखका भाका गाउँदै माइतीको आँगनमा छमछमी नाच्ने पर्वका रूपमा तीजलाई लिइन्छ । आफ्ना साथीसङ्गीसित नाचगान गर्दै सुखदुःख साटासाट गर्दा महिलाले वर्ष दिनभर भोगेको आफ्नो व्यथा हलुङ्गो भएको महसुस गर्छन् भन्ने मान्यता राखिन्छ ।
त्यसो त केही वर्षयता तीज मनाउने परम्परागत शैलीमा व्यापक परिवर्तन आएको छ । नाचगान, गीत, पहिरनका क्षेत्रमा आएको परिवर्तनले तीजको मौलिक स्वरूप पूरै हराउने अवस्था देखिएको छ । गायिकासित नारिएर गायक पनि तीज गीत गाउँदै रमाउन थालेका छन् भने परम्परागत लोकलय र वाद्यवादन शैली पनि पूरै विस्थापित हुने हो कि भन्ने खतरा छ ।
तीजको सांस्कृतिक पक्षभन्दा बढी व्यापारिक भएर विकृत हुने खतरा बढेकोे छ । यस्तै तीज नजिकिँदै जाँदा तीज गीत सार्वजनिक हुने क्रम बढेको छ । गाउँदेखि सहरसम्म तीजका नयाँ पुराना भाका घन्किन थालेका छन् । सञ्चार माध्यम र सोसल मिडियामा झपक्कै गरगहना र महँगा साडी लगाएर पाश्चात्य शैलीका गीतमा नाच्दै रमाइरहेका महिलालाई देख्दा ग्रामीण भेगका वनजङ्गल र मेलापात गर्नुपर्ने विपन्न महिलालाई हीनताबोध समेत हुने गरेको पाइन्छ ।

सुनिदैन विरह देखिन्छ मनोरञ्जन
‘पैतालुको खाला गयो बिझाउने बाटोले
हृदयको खाला गयो बासी आँटोले ।’
बदलिँदो समय, फेरिदो आर्थिक अवस्था र आधुनिक जीवनशैलीप्रति बढ्दो आकर्षणका कारण विरह र वेदना समेटिएका गीतहरु हिजोआज सुनिदैनन् । तीज पर्व महिलाले वर्षभरि भोग्नुपरेका दुःख, पीडा र व्यथा बाहिर ल्याउने पर्व हो । लोक संस्कृति झल्काउने खालका गीत गाउँथे तर अहिले यस्ता गीतहरु लोप हुने अवस्थामा पुगेको समाजका अगुवा महिला अधिकारकर्मी बताउँछन् । महिलाले सासू–ससुरा र पतिको अन्यायका विरुद्ध आवाज उठाउने संस्कृतिमा रुपमा गाउने भाका अहिले फेसनका रुपमा भित्रिन थालेको छ ।
पहिलापहिला तीजका गीतमा दुःख, वेदनाका भाव झल्कन्थे । माइतबाट कोही लिन नआएको, घाँस, दाउरा बोकेर बसेको, माइती लिन आउलान् भन्दै बाटो हेरेकोे जस्ता कुरा तीज गीतमा हुन्थे, अहिले संस्कृतिभन्दा मनोरञ्जन र तामसी भावका गीत बढी छन् ।
आजभोलि तीजका गीतमा हरिदेवी कोइराला, बीमाकुमारी दुरा, देवी घर्तीलगायत लोकप्रिय र संस्कृतिप्रेमी गायिका सुनिदैनन् । न लक्ष्मी न्यौपाने, शर्मिला गुरुङलगायतले गाएका सांस्कृतिक गीतहरु नै सुन्न पाइन्छ । अहिले बजार र गाउँघरमा समेत तामसी प्रवृत्तिका गीतहरु बर्गेल्ती सुनिन्छन् । ती गीतमा हुँदैनन् महिलाका वेदना र विरह । मात्र त्यहाँ देखिन्छ, मनोरञ्जन र छाडापना । म्याग्दीका साहित्यकार अजयमिलन श्रेष्ठका अनुसार तीजका गीतमा विरह सुनिदैन, मनोरञ्जन मात्रै देखिन्छ ।
ओझेल पर्दै धार्मिक पक्ष
तीज पर्व भगवान शिव र पार्वतीसँग जोडेर मनाउने पर्व हो । यस पर्वमा महिलाहरु अघिल्लो दिन दर खाएर भोलिपल्टअर्थात् हरितालिकाको दिन निरहार पानी पनि नखाई व्रत बसी भगवान शिवको पूजा गर्दछन् । विवाहित महिलाले आफ्नो पतिको दीर्घायुको कामना गर्दै र अविवाहित महिलाले भगवान शिवजस्तो असल, गुणी, राम्रो पति पाऊँ भन्दै व्रत बस्ने प्रचलन रही आएको छ । हिन्दू धर्म ग्रन्थमा भगवान शिवलाई पति पाउँ भनेर देवी पार्वतीले गरेको व्रतको प्रभावले शिव नै स्वामी पाएको भन्ने धार्मिक जनविश्वास रहँदै आएको छ तर हिजोआज तीज पर्वको धार्मिक पक्ष नै ओझेलमा पर्दै गएको छ ।
प्रतिक्रिया दिनुहोस्