२०८३ साउन १० , आइतबार
प्रदेश खबर

गगन थापा सिंगो कांग्रेसको सभापति बन्न सकेनन् : पूर्णबहादुर खड्का



सुर्खेत । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्री गगन थापा सिंगो कांग्रेसको नेता बन्न नसकेको भन्दै कडा टिप्पणी गरेका छन्। शनिबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित ‘नेपाली कांग्रेस बृहत्तर एकता र भावी कार्यदिशा’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै नेता खड्काले थापा अझै पनि पार्टीको एउटा गुट वा ‘सानेपा’ को मात्रै सभापति जस्तो देखिएको आरोप लगाएका हुन्।

आफूलाई भेट्न आएका सभापति थापालाई सिंगो पार्टीलाई समेटेर अघि बढ्न सुझाव दिएको स्मरण गर्दै खड्काले अहिले पार्टी गम्भीर मोडमा उभिएको बताए। केही दिनअघि थापा र उपसभापति विश्वप्रकाश शर्मासँग भएको भेटवार्ताको प्रसंग कोट्याउँदै उनले भने, “पार्टी यतिबेला विभाजनको डिलमा पुगेको छ। म त कुनै पनि हालतमा पार्टी फुट्ने बाटोमा जानुहुन्न भन्छु, तर अब कांग्रेसलाई मिलाएर लैजाने कि फुटाउने भन्ने मुख्य जिम्मेवारी र चाबी तपाईँहरूकै हातमा छ।” उनले अदालतको फैसलापछि आफूहरूले पनि थापालाई नेतृत्व स्वीकार गरेको स्पष्ट पारे।

नेता खड्काले पार्टीभित्रकै आन्तरिक खिचातानी र विशेष महाधिवेशनकै सनकका कारण कांग्रेसले ठूलो राजनीतिक मूल्य चुकाउनुपरेको दाबी गरे। विशेष महाधिवेशनको खेलले गर्दा नै गत चुनावमा कांग्रेस निकै कमजोर बनेर जम्मा ३८ सिटमा खुम्चिनु परेको उनको विश्लेषण थियो। “त्यही आन्तरिक कमजोरीको फाइदा उठाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुई तिहाइ नजिक पुग्ने वातावरण बन्यो,” खड्काले थपे, “यदि पार्टीभित्र त्यस्तो आत्मघाती परिस्थिति सिर्जना नगरिएको भए आज देशको राजनीतिक अवस्था अर्कै हुने थियो।”

प्रकाशित मिति : २०८३ जेठ २ गते शनिबार