सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिकाले प्रांगारिक कृषि तथा पोषण मेला गरेको छ । प्रांगारिक कृषिलाई प्रोत्साहन गर्न र पौष्टिक खाद्यवस्तुको बजारीकरण गरेर कुपोषण हटाउने उद्देश्यले मेला गरिएको भेरीगंगा नगरपालिकाका मेयर यज्ञप्रसाद ढकालले बताउनु भयो । गाउँमा रासायनिक मल तथा विषादीको प्रयोगले नकरात्मक असरहरु बढ्दै गएको र त्यसले भविष्यमा कुपोषणको समस्या जोखिम देखेपछि जनचेतना फैलाउन मेला आयोजना गरिएको ढकालको भनाइ छ ।

मेलाको उद्घाटन गर्दै कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले प्राङ्गारिक कृषि केन्द्रीत गतिविधिले स्थानीय स्तरमा उत्पादित पौष्टिक खाद्यवस्तुको बजारीकरण, खाद्य सुरक्षामा नागरिक चेतना बृद्धि र अर्गानिक कर्णाली प्रदेशको अभियानलाई सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
मेलामा स्थानीयस्तरमा उत्पादन भएका तरकारी, फलफूल, कागुनो, कोदो, फापरका परिकारहरु र थोपा सिँचाइ, टनेल खेती, सुधारिएको गोठ, आधुनिक कृषि औजार लगायतका प्रर्दशनी गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्