२०८३ साउन १० , आइतबार
कर्णालीका सबै पालिकामा स्काउट पुर्‍याइने

प्रदेश सरकारको नयाँ योजना र सामाजिक रूपान्तरणको लक्ष्य



सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी एक वर्षभित्र प्रदेशका सबै पालिकास्तरसम्म नेपाल स्काउटको संरचना विस्तार गर्ने महत्त्वाकाङ्क्षी योजना अघि सारेको छ। सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘शान्ति र सुरक्षा’ विषयक प्रदेशस्तरीय कार्यक्रमको उद्घाटन गर्दै सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले यस्तो जानकारी दिनुभएको हो। सरकारले अब स्काउटलाई केवल एउटा सङ्गठनमा मात्र सीमित नराखी प्रत्येक विद्यालयसम्म पुर्‍याएर विद्यार्थीहरूलाई ‘उत्पादन र स्वयम्सेवी भावना’ सँग जोड्ने तयारी गरेको छ।

मन्त्री भण्डारीले समाजमा जरो गाडेर बसेका बालविवाह, जातीय विभेद, छुवाछुत र लैङ्गिक हिंसा जस्ता सामाजिक विकृति रोक्न स्काउटले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। विगतमा प्रदेश सरकारको पर्याप्त ध्यान पुग्न नसकेको स्वीकार गर्दै उहाँले अबका दिनमा स्काउटका गतिविधिहरूलाई उच्च प्राथमिकताका साथ अगाडि बढाइने प्रतिबद्धता जनाउनुभयो। पढाइसँगै अतिरिक्त क्रियाकलापमा स्काउटको संलग्नताले सभ्य, सृजनशील र रचनात्मक समाज निर्माणमा टेवा पुग्ने सरकारको ठम्याइ छ।

पाल स्काउटका कर्णाली प्रदेश प्रमुख आयुक्त कमल बोहराले सरकारको यस योजनालाई स्वागत गर्दै केही व्यवहारिक चुनौतीहरूबारे ध्यानाकर्षण गराउनुभयो। हाल सरकारी सहयोग विना नै सञ्चालन भइरहेको ‘एक घर, एक स्काउट’ अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयनमा लैजान बजेट र स्रोतको अभाव रहेको उहाँको भनाइ थियो। यस्तै, स्काउट लिडर प्रतिमा सिल्वालले स्काउटले लागुपदार्थ दुर्व्यसनी रोकथाम र विभिन्न सामाजिक जागरण अभियानमा निःस्वार्थ सेवा गरिरहेको भन्दै यसको संस्थागत विकासका लागि सरकारको दह्रो साथ आवश्यक रहेको उल्लेख गर्नुभयो।

फिनल्याण्ड–नेपाल साझेदारी परियोजना (एसपीएस प्रोजेक्ट) अन्तर्गत आयोजित यस प्रशिक्षण कार्यक्रममा कर्णालीका आठ जिल्लाका ६० जना स्काउट मास्टर र प्रशिक्षार्थीहरूको सहभागिता रहेको छ। अधिकृत नरेन्द्र बोहराका अनुसार प्रशिक्षकद्वय कृति भट्टराई र सोनु भण्डारीले सहभागीहरूलाई स्काउटिङका सैद्धान्तिक र व्यवहारिक पक्षमा सहजीकरण गरिरहनुभएको छ।

प्रकाशित मिति : २०८३ वैशाख २९ गते मंगलबार