सुर्खेत । चलचित्र ‘लालीबजार’ को निर्माण पक्ष र कलाकारहरूको टोलीले काठमाडौँ बाहिरका दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्न ‘मोफसल यात्रा’ सुरु गरेको छ। अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता रवीन्द्रसिंह बानियाँसहितको टोलीले मङ्गलवारदेखि सुर्खेतबाट आफ्नो भ्रमणको श्रीगणेश गरेको हो। काठमाडौँका हलहरूमा दर्शकको उल्लेख्य साथ पाएपछि यो टोली अब मोफसलका दर्शकको प्रतिक्रिया लिन र उनीहरूसँग अनुभव साटासाट गर्न सुर्खेत आइपुगेको हो। सुर्खेतपश्चात् यो टोली नेपालगन्जका विभिन्न सिनेमा हलहरूमा पुग्ने कार्यक्रम तय भएको छ।

वैशाख २५ गतेदेखि देशभर प्रदर्शनमा आएको यस फिल्मले विभिन्न क्षेत्रका व्यक्तिहरूबाट उत्साहजनक प्रतिक्रिया बटुलिरहेको छ। निर्माण पक्षका अनुसार, पछिल्लो समय परिवारसहित हलसम्म पुगेर फिल्म हेर्ने दर्शकको सङ्ख्यामा वृद्धि भएको छ। विशेष गरी बादी समुदायका अभियन्ताहरूले सामाजिक सञ्जालमार्फत फिल्मको कथावस्तु र प्रस्तुतिको प्रशंसा गरेपछि यसले थप चर्चा र संवेदनशीलता पाएको छ। केही विवादका कारण पूर्वनिर्धारित मितिभन्दा एक साता ढिलो गरी रिलिज भए पनि फिल्मले अहिले हलहरूमा आफ्नो दह्रो उपस्थिति जनाइरहेको छ। कार्यकारी निर्माता तथा पटकथाकार प्रदीप भट्टराईका अनुसार, दर्शकसँग प्रत्यक्ष संवाद गर्दा फिल्मले दिने सन्देश र दर्शकको बुझाइबारे वास्तविक जानकारी प्राप्त हुने भएकाले यो यात्रा तय गरिएको हो। निर्देशक यम थापाको नेतृत्वमा रहेको यो टोलीले हलमै पुगेर दर्शकसँग साक्षात्कार गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस्