नेपाली कांग्रेसले कर्णालीको विकास, सुशासन र जनसेवालाई थप प्रभावकारी बनाउने दृढ प्रतिबद्धताका साथ २१ बुँदे ‘कर्णाली सङ्कल्प’ सार्वजनिक गरेको छ। केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा सुर्खेतमा दुई दिनसम्म चलेको प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधि र पार्टी नेतृत्वबीचको सघन मन्थनपछि यो नीतिगत दस्तावेज जारी गरिएको हो। भेलामा पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, महामन्त्री प्रदीप पौडेल लगायतका शीर्ष नेताहरूले कर्णालीका जनप्रतिनिधिसँग पार्टीको आगामी कार्यदिशा र जनअपेक्षाबारे प्रत्यक्ष संवाद गर्नुभएको थियो। दुई दिने यस कार्यक्रमको पहिलो दिन गत निर्वाचनको गम्भीर समीक्षा र सङ्गठनात्मक कमजोरी सुधार्ने रणनीतिका विषयमा छलफल भएको थियो भने दोस्रो दिन जनप्रतिनिधिहरूलाई सुशासन, विकास निर्माण र प्रभावकारी सेवा प्रवाहका विषयमा विशेष प्रशिक्षण दिइएको थियो।
यस सङ्कल्प पत्रमार्फत कांग्रेसले नागरिकमैत्री र उत्तरदायी सरकार सञ्चालनलाई आफ्नो मुख्य एजेन्डा बनाएको छ। प्रशासनलाई झन्झटमुक्त बनाउँदै कानुन र विधिको शासनलाई कडाइका साथ पालना गर्ने र सेवा प्रवाहमा ‘मानवीयता’ लाई केन्द्रमा राख्ने प्रतिबद्धता कांग्रेसले जनाएको छ। विशेषगरी अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, गर्भवती र विपन्न वर्गले राज्यको सेवा लिन कार्यालयसम्म धाउनुपर्ने बाध्यता अन्त्य गर्दै उनीहरूकै घरदैलोमा पुगेर सेवा दिने नयाँ मोडल अघि सारिएको छ। आर्थिक प्रशासनलाई पारदर्शी बनाउन असार १० गतेभित्रै अनिवार्य बजेट ल्याउने, योजनाहरूलाई व्यवस्थित गर्न ‘प्रोजेक्ट बैंक’ प्रणाली लागू गर्ने र बजेट छर्ने ‘टुक्रे योजना’ को प्रवृत्तिलाई पूर्ण रूपमा रोक्ने साहसिक निर्णय कांग्रेसले गरेको छ।

कांग्रेसकाे प्रदेशस्तरिय भेलाका अतिथीहरू ।
आर्थिक अनुशासन र सुशासनलाई जोड दिँदै कांग्रेसले स्थानीय तहमा ‘शून्य बेरुजु’ को लक्ष्य लिएको छ। अबका योजनाहरू नेताको खल्तीबाट नभई विज्ञ, नागरिक समाज र पार्टीको परामर्शमा मात्रै तर्जुमा गरिनेछन्। वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूको सीपलाई स्वदेशमै सदुपयोग गर्न ‘रोजगार बैंक’ को स्थापना गर्ने र उनीहरूलाई उद्यमशीलतासँग जोडेर स्वरोजगारका अवसरहरू सिर्जना गर्ने योजना सङ्कल्प पत्रमा समेटिएको छ। शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि कांग्रेसले नयाँ अवधारणा ल्याएको छ, जसमा कर्णालीको आफ्नै भूगोल र पहिचान झल्किने पाठ्यक्रम निर्माण गर्ने, अनुसन्धानमुखी शिक्षामा जोड दिने र स्वास्थ्य बीमालाई हरेक नागरिकको पहुँचमा पुर्याउने लक्ष्य राखिएको छ। साथै, कर्णालीको विकटतालाई मध्यनजर गर्दै दुर्गम क्षेत्रमा ‘एयर एम्बुलेन्स’ सेवालाई थप सहज र प्रभावकारी बनाउने सङ्कल्प गरिएको छ।
प्राकृतिक स्रोतको उचित परिचालनलाई आर्थिक वृद्धिको आधार बनाउँदै जडिबुटी, जलस्रोत, जङ्गल र पर्यटनको संरक्षणमा जोड दिइएको छ। कर्णालीका उच्च मूल्यका जडिबुटीलाई कच्चा पदार्थकै रूपमा निर्यात गर्नुको सट्टा स्थानीय स्तरमै प्रशोधन गरी अन्तर्राष्ट्रिय ‘ब्रान्डिङ’ गर्ने योजना कांग्रेसले अघि सारेको छ। सामाजिक रूपान्तरणका लागि बोक्सी प्रथा, छाउपडी, बालविवाह र छुवाछुतजस्ता जरो गाडेर बसेका कुरीतिहरू अन्त्य गर्न विशेष अभियान सञ्चालन गरिनेछ। सङ्घीयताको लाभ गाउँसम्म पुर्याउनका लागि वित्तीय अधिकारको बाँडफाँट र कर्मचारी व्यवस्थापनमा सङ्घीय सरकारको गम्भीर ध्यानाकर्षण गराउने निर्णय पनि भेलाले गरेको छ। हुम्लाको उत्तरी नाका यारीलाई व्यावसायिक रूपमा सञ्चालन गर्न पहल गर्ने र पार्टी सङ्गठनलाई डिजिटल प्रणालीमार्फत थप सशक्त बनाउने प्रतिबद्धतासँगै यो दुई दिने कर्णाली मन्थन समापन भएको छ।
प्रतिक्रिया दिनुहोस्