सुर्खेत । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को बजेट अधिवेशनमार्फत यसपटक रणनीतिक बुँदाहरूमा आधारित फरक ढाँचाको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्. यो नयाँ नीतिले कर्णालीका पुराना र अधुरा सपनाहरूलाई फेरि प्राथमिकतामा राख्ने प्रयास गरेको छ ।

पर्यटनमा कर्णालीको नयाँ पहिचान
सरकारले यसपटक कर्णाली, सुदूरपश्चिम र मधेसलाई विशेष प्राथमिकतामा राखेर नयाँ पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्ने नीति लिएको छ. रारा, से-फोक्सुन्डो र कांक्रेविहार जस्ता परिचित स्थलहरूबाहेक अन्य ओझेलमा परेका क्षेत्रहरूमा सडक र सत्कार सेवा पुर्याउन यसले मद्दत गर्नेछ. साथै, हिमाली र मध्यपहाडी क्षेत्रमा १० वटा नयाँ पदमार्ग पहिचान गरी प्रवर्द्धन गरिने कुराले कर्णालीका विकट तर सुन्दर ठाउँहरूमा पर्यटकको आकर्षण बढाउने देखिन्छ.
मध्यपहाडी राजमार्ग र अलपत्र पुलको मुद्दा
कर्णालीको समृद्धिसँग जोडिएको मध्यपहाडी राजमार्गको स्तरोन्नतिलाई तीव्रता दिने कुरा नीति तथा कार्यक्रममा उल्लेख छ. यसले विशेषगरी दैलेख, जाजरकोट र रुकुम पश्चिमका नागरिकलाई सहजता थप्नेछ. जाजरकोटको मन्ताभिरको ट्र्याक खोल्ने काम र दशकौँदेखि अलपत्र परेको भेरी नदीको पुल निर्माणले अब गति पाउने आशा पलाएको छ ।
नयाँ सहर र सहरीकरणको योजना
सहरी पूर्वाधार कमजोर भएका पालिकालाई प्राथमिकता दिने नीतिले प्रदेश राजधानी वीरेन्द्रनगरलाई उपमहानगरपालिका बनाउने लक्ष्यमा थप टेवा पुर्याउनेछ. त्यस्तै, मध्यपहाडी राजमार्गकै आसपासमा पर्ने दैलेखको राकम उपत्यका र रुकुम पश्चिमको चौरजहारी उपत्यकालाई पहिचानयुक्त ‘नयाँ सहर’ का रूपमा विकास गरिनेछ. यसले स्थानीय स्तरमा आर्थिक सम्भावनाहरू खोल्नुका साथै बसाइँसराइको ट्रेन्डलाई पनि सकारात्मक रूपमा प्रभाव पार्न सक्छ ।
भूकम्पपछिको पुनर्निर्माणमा प्राथमिकता
२०८० कात्तिक १७ को भूकम्पबाट प्रभावित जाजरकोट र रुकुम पश्चिमका नागरिकका लागि खुसीको कुरा, सरकारले पुनर्निर्माणको कामलाई विशेष प्राथमिकतामा राखेको छ. यसअघि प्रभावकारी कार्यान्वयन नहुँदा समस्या झेल्दै आएका प्रभावितहरूले यसपटक भने छिट्टै स्थायी संरचना र राहत पाउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्