२०८३ भदौ ३० , मंगलबार
कर्णालीमा सत्ता परिवर्तनकाे संकेत

गगनले भने “अब सरकार चलाउने पालाे आयो”



सुर्खेत । ​नेपाली कांग्रेसका सभापति गगन थापाले अब कर्णाली प्रदेश सरकारको नेतृत्व कांग्रेसले सम्हाल्ने बेला आएको बताएका छन्। सोमबार प्रदेश राजधानी वीरेन्द्रनगरमा आयोजित प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले नेकपा (एमाले) सँग भएको सहमति अनुसार अब कांग्रेसले सत्ताको बागडोर सम्हाल्नुपर्ने स्पष्ट पारे।

साेमबारदेखि सुर्खेतकाे वीरेन्द्रनगरमा जारी प्रदेशस्तरिय भेलाका अतिथि

अहिले एमालेसँगको सहकार्यमा सरकार सञ्चालन भइरहेको भए पनि संसदीय दलका नेता जीवनबहादुर शाही र अन्य माननीयहरूसँग छलफल गरी छिट्टै आफ्नै नेतृत्वमा सरकार अघि बढाउने उनको दाबी छ। थापाले सरकारको नेतृत्व लिएपछि कर्णालीको समृद्धिका लागि एउटा बलियो आधार तयार पार्ने र विगतका अनुभवहरूलाई आत्मसात् गर्दै अझ जिम्मेवार ढङ्गले काम गर्ने प्रतिबद्धता समेत जनाएका छन्।

कांग्रेसको भेलाका सहभागीहरु ।

​पार्टीभित्रको एकता र सहकार्यलाई जोड दिँदै उनले नेता तथा कार्यकर्ताहरूलाई व्यक्तिगत स्वार्थ र गलत व्यवहार त्यागेर जनताको विश्वास जित्न आग्रह गरे। पार्टी संगठनलाई स्थानीय तहसम्मै प्रभावकारी बनाउनुपर्ने र नयाँ सदस्यहरूलाई जोड्दै संगठन विस्तारमा लाग्नुपर्ने उनको ठम्याइ छ। थापाका अनुसार जनताको भावना र आवश्यकतालाई केन्द्रमा राखेर काम गर्न सके मात्रै पार्टी बलियो बन्छ, त्यसैले समयअनुसार नयाँ शैली र कार्यपद्धति सिक्दै कांग्रेसलाई अझ बढी जनतामैत्री बनाउनु अहिलेको मुख्य आवश्यकता हो। अनुशासन र सकारात्मक सोचका साथ अघि बढेमा मात्र कर्णालीको विकास र समृद्धिको सपना साकार हुने विश्वास उनले व्यक्त गरे।

प्रकाशित मिति : २०८३ वैशाख २८ गते सोमबार