२०८३ वैशाख ५ , शनिबार
मानव सुरक्षाको मुल प्रवाहिकरणको मुद्धा

पूर्वाधार निर्माण गर्दा प्रकृति र मानवीय सुरक्षालाई ध्यान दिने प्रतिबद्धता



 

सुर्खेत । प्रकृति र मानवीय सुरक्षालाई ध्यान दिएरमात्रै पूर्वाधार विकासका गतिविधि गर्ने कर्णालीका सरोकारवाला निकायले प्रतिबद्धता जनाएका छन् । वीरेन्द्रनगरमा दुई दिनसम्म भएको उप–राष्ट्रिय/स्थानीय स्तरको कार्यशालामा सहभागी सरकारी तथा गैरसरकारी निकायले अब बन्ने हरेक योजनामा मानव सुरक्षाका एजेन्डा लागु गर्ने प्रतिवद्धता जनाएका हुन ।

हरेक विकासका योजना तथा कार्यक्रम बनाउँदा नै मानव सुरक्षालाई ध्यान दिने उनीहरुको भनाइ छ । विकास निर्माणका गतिविधिसँगै मानवीय सुरक्षालाई पनि विशेष ख्याल राख्नुपर्नेमा साझा धारणा बनेको हो । कार्यक्रममा मानव सुरक्षा अन्तर्राष्ट्रिय विज्ञ प्रोफेसर डा. शाहरबानौ ताजबख्शले विश्वका अधिकांश देशले विभिन्न क्षेत्रमा बजेट विनियोजन गरेपनि मानवीय सुरक्षामा ध्यान दिन नसकेको बताइन् । ‘कोरोना माहामारीको बेला मानवीय सुरक्षा र व्यवहार हरायो’ उनले भनिन्, ‘विपद् निम्त्याउने गरी विकास गर्नुहुँदैन । कुनै पनि काम गर्दा त्यसबाट निम्तिनसक्ने जोखिमबारे राम्रोसँग अध्ययन गरेर मात्रै कार्यक्रम कार्यान्वयन गर्नुपर्छ ।’
त्यस्तै डा. राजु थापाले कुनै पनि विकासका काम गर्दा सकारात्मक र नकारात्मक दुवै असर पर्ने उल्लेख गर्दै मानवीय सुरक्षा कायम हुनुभनेको व्यक्तिको आत्मसम्मानको पनि विषय रहेको बताए । योजना तथा कार्यक्रम निर्माण गर्दा मानव सुरक्षालाई ध्यान दिनुपर्ने उनको भनाइ छ ।
युएनडिपीका विजय सिंहले जलवायु परिवर्तनका असर तथा प्राकृतिक प्रकोप, सामाजिक विभेद तथा अपराध जस्ता गतिविधिले सुरक्षाको प्रत्याभूति हुन नसकेको बताए । ‘कर्णाली प्रदेशको जाजरकोटका नलगाड नगरपालिका र बारेकोट गाँउपालिकामा मानवीय सुरक्षा र प्राकृतिक प्रकोपलाई ध्यानमा राखेर विकासका गतिविधि अघि बढाइएको छ’ उनले भने, ‘नेपाल र बंगलादेशमा लागु भएको यो कार्यक्रम विश्वकै नयाँ सोच अनुसार अघि बढाइएको छ ।’
युएनडिपीका बैंकक प्रमुख आरिफ खानले मानवीय सुरक्षा ध्यानमा राखेर नीति तथा कार्यक्रम बनाएर मात्रै विकासका काम गर्नुपर्ने बताए । यो बिषयवस्तु पुरानै भएपनि नयाँ सोचका साथ कार्यक्रम लागु भएको उनको भनाइ छ ।

प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पुस्पराज शाहीले अब हरेक काम गर्दा मानवीय सुरक्षाको उपाय अपनाउने बताए । मन्त्रालयले नीतिगत पूर्वतयारी अपनाएर मानवीय सुरक्षामा काम गरीरहेको भन्दै यसलाई अझै गहन रूपमा अध्ययन गरेर कार्यक्रम लागु गर्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘मान्छेकै सुविधाका लागि विकास गर्दा आउनसक्ने जोखिमले मानवीय क्षति के कति पु¥याउँछ ? र त्यसबाट कसरी बच्न सकिन्छ ? भनेर कार्यक्रम कार्यान्वयन गर्नु पहिले नै योजना बनाउनुपर्छ अनि मात्रै विकसमा मानव सुरक्षा सुनिश्चित हुन्छ ।’
प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीले आर्थिक र भौतिक विकाससँगै सामाजिक विकास पनि हुनुपर्ने उल्लेख गरे । सामाजिक विकासको पनि मानवीय सुरक्षाको विषय सुनिश्चित नभएसम्म अन्य विकास गौण रहने उनको भनाइ छ । उनले भने, ‘प्रदेशको दोस्रो आवधिक योजना तयार भएर कार्यान्वयन भइरहेको छ । त्यसमा सामाजिक न्याय र समृद्धि सहितको सुशासन कार्यान्वयनमा जोड दिइएको छ । सोहीअनुसार नीति, रणनीति बनाएर कार्यक्रम बनाएका छौँ ।’
बारेकोट गाउँपालिका अध्यक्ष विरबहादुर गिरीले नजानेर नबुझेर भन्दा पनि नटेरेर विकासका काम गर्दा मानवीय सुरक्षामा समस्या रहेको बताए । ‘बाढी आउने ठाउँमा घर बनाउने ? प्रकृतिलाई क्षति पुन्ने गरी सडक खन्ने ? चलन छ । वातावरणमैत्री विकास गर्न राज्यले नीतिगत व्यवस्था गर्नसकेको छैन्,’ उनले भने, ‘सुरक्षाका सवाल निकै साँघुरो भएकाले यो बहसलाई राष्ट्रिय सवालका रूपमा बहस उठाउनुपर्छ । यसको सुरुवात कर्णालीबाट भएको छ । बारेकोटमा यो कार्यक्रम लागु भएपछि पालिकावासीले निकै राहतको महशुस गरेका छन् ।’

मानव सुरक्षालाई ध्यानमा राखेर विश्वमा पहिलो पटक बंगलादेश र नेपालमा कार्यक्रम लागु भएको छ । बंगलादेश र नेपालको जाजरकोटका नलगाड नगरपालिका र बारेकोट गाउँपालिकामा यूएनडिपीले मानव सुरक्षालाई ध्यानमा राखेर कार्यक्रम लागु गरेको हो । मानव सुरक्षा बहु–जोखिममा रहेको निश्कर्ष पश्चात पहिलो पटक बंगलादेश र नेपालमा यूएनडिपीले कार्यशाला सञ्चालन गरेको हो । नेपालको संघिय राजधानी काठमाण्डौ र कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा यो कार्यशाला सञ्चालन गरी नयाँ कार्ययोजना समेत तयार पारिएको छ । युएनडिपी कर्णाली प्रदेश प्रमुख रफिक सिद्धिकीले विकास निर्माणमा मानवीय सुरक्षाको विषय बहसका रूपमा आएकाले यसलाई हरेक ठाउँमा कार्यान्वयन गर्नेगरी काम गर्ने र गर्न लगाउने बताए ।

प्रकाशित मिति : २०८२ भदौ ९ गते सोमबार