२०८३ साउन ११ , सोमबार
मुख्यमन्त्री कँडेलकाे अाग्रह

“सुकुम्वासीमाथि ज्यादती बन्द गर, नागरिकलाई आतङ्कित नबनाऊ”



वीरेन्द्रनगर | कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सरकारी जग्गा खाली गराउने बहानामा भूमिहीन र सुकुम्वासीमाथि भइरहेको धरपकड र ज्यादती तत्काल बन्द गर्न सङ्घीय सरकारसँग आग्रह गर्नुभएको छ। वीरेन्द्रनगर नगरपालिकाको ५०औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले कानुन कार्यान्वयनका नाममा नागरिकलाई आतङ्कित बनाउने काम लोकतन्त्र सुहाउँदो नभएको बताउनुभयो।

मुख्यमन्त्री कँडेलले पछिल्लो समय सुकुम्वासी व्यवस्थापनका नाममा भइरहेका गतिविधिले नागरिकहरू उकुसमुकुस र त्रासमा रहेको टिप्पणी गर्नुभयो। “लोकतन्त्रमा जनताले सुरक्षित र आश्वस्त महसुस गर्न पाउनुपर्छ,” उहाँले भन्नुभयो, “तर अहिले वास्तविक अवस्थाको अध्ययन नगरी बस्ती खाली गराउन खोज्दा सर्वसाधारण त्रसित बनेका छन्। जनताको आवाज दबाउने प्रयास हुनु हुँदैन।”

मुख्यमन्त्रीले भूमिहीन र सुकुम्वासीको समस्या एकैपटक नभई क्रमशः समाधान गर्दै लैजानुपर्ने प्रकृतिको भएको उल्लेख गर्नुभयो। झण्डै दुई–तिहाइ बहुमतको सरकारले सरकारी जग्गा संरक्षणको अभियान चलाइरहँदा मानवीय पक्ष र व्यवहारिक समाधानलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने उहाँको तर्क थियो।

सम्बोधनका क्रममा मुख्यमन्त्री कँडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो वाचापत्र कर्णालीबाटै सार्वजनिक गरेको प्रसङ्ग स्मरण गराउनुभयो। उहाँले आगामी बजेटमा यसअघि प्रदेश सरकारले सङ्घीय सरकारसमक्ष राख्दै आएका कर्णालीका योजना र प्राथमिकताहरूलाई अनिवार्य रूपमा समेट्न आग्रह समेत गर्नुभयो। नागरिकलाई भयमुक्त वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित गर्दै सुकुम्वासी समस्याको दीर्घकालीन निकास खोज्न उहाँले सङ्घीय सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ।

प्रकाशित मिति : २०८३ वैशाख २५ गते शुक्रबार