सुर्खेत | देशका विभिन्न स्थानमा अव्यवस्थित बस्ती हटाउने अभियान तीव्र भएसँगै सुर्खेतका सुकुमबासी समुदायमा त्रास र आक्रोश बढेको छ। आफ्नो बसोबासको अधिकार सुरक्षित गर्न माग गर्दै शुक्रबार दिउँसो सुर्खेतको मंगलगढी चोकमा सुकुमबासीहरूले विरोध प्रदर्शन गरेका हुन्।

वीरेन्द्रनगर ६ मा पुगेका प्रदर्शनकारीहरु ।
मंगलगढी चोकमा भेला भएका सयौँको सङ्ख्यामा रहेका भूमिहीनहरूले सरकारको पछिल्लो कदमप्रति कडा आपत्ति जनाएका छन्। प्रदर्शनकारीहरूले हातमा प्लेकार्ड बोकेर सरकारविरुद्ध चर्को नाराबाजी समेत गरे। प्रदर्शनमा सहभागीहरूले वर्षौँदेखि बसोबास गर्दै आएको स्थानबाट कुनै उचित विकल्प वा पुनस्र्थापनाबिना हटाउन खोज्नु अन्यायपूर्ण भएको बताएका छन्। उनीहरूले राज्यले आफूहरूलाई अपराधीको जस्तो व्यवहार गरेको भन्दै आक्रोश पोखे। “हामीलाई यहाँबाट हटाउनुअघि सरकारले बस्ने ठाउँ देखाइदिनुपर्छ,” एक प्रदर्शनकारीले भने, “विकल्पबिनाको उठीबास हामीलाई कुनै पनि हालतमा स्वीकार्य छैन।”

प्रदर्शनकारीहरु।
सुकुमबासी समुदायले बल प्रयोग गर्नुको सट्टा संवाद र सहकार्यको माध्यमबाट समस्याको दीर्घकालीन समाधान खोज्न सरकारसँग आग्रह गरेका छन्। डोजर अभियानले हजारौँ परिवारलाई सडकमा पुर्याउने र यसले ठुलो मानवीय सङ्कट निम्त्याउने उनीहरूको चेतावनी छ। उनीहरूले आवासको अधिकारलाई मानवअधिकार र सामाजिक न्यायको दृष्टिकोणबाट हेर्न सरकारलाई सुझाव समेत दिएका छन्। उनीहरूले मुख्य गरी निम्न माग र नाराहरू अघि सारेका थिए । उनीहरुले “डोजर आतङ्क बन्द गर !” “भूमिहीन सुकुमबासीको उठीबास गर्न पाइँदैन !” “हाम्रो भूमि, हाम्रो अधिकार सुरक्षित गर !” “स्थायी बसोबासको ग्यारेन्टी गर !” जस्ता नारा लगाएर विराेध प्रदर्शन गरेका थिए ।

पछिल्लो समय सुर्खेतका विभिन्न खोला किनार र सार्वजनिक जग्गामा बसेका बस्तीहरूमा पनि डोजर चल्न सक्ने त्रास फैलिएपछि सुकुमबासीहरू सङ्गठित भएर प्रतिकारमा उत्रिन थालेका हुन्।
प्रतिक्रिया दिनुहोस्