२०८३ साउन ११ , सोमबार
भेरीगंगामा ‘प्राङ्गारिक र पोषण मेला’

रैथाने बाली र प्रविधिको विशेष प्रदर्शनी हुने



सुर्खेत ।  कर्णाली प्रदेशलाई प्राङ्गारिक प्रदेश बनाउने लक्ष्यलाई सघाउन र स्थानीय किसानको पौरखलाई बजारसँग जोड्न सुर्खेतको भेरीगंगा नगरपालिकाले विशेष मेलाको आयोजना गर्ने भएको छ। आउँदो जेठ १ गते भेरीगंगा–१२, छिन्चुस्थित एक विद्यालयको प्राङ्गणमा ‘प्राङ्गारिक कृषि तथा पोषण मेला’ आयोजना हुन लागेको हो। नगरपालिकाको कृषि शाखाका प्रमुख सुरज बिसीका अनुसार ‘भेरीगंगाको सानः प्राङ्गारिक कृषि र उद्यमी किसान’ भन्ने मूल नाराका साथ यो मेला आयोजना गर्न लागिएको हो। नगरपालिकालाई कृषि उद्यमी नगरको रूपमा स्थापित गर्ने र कृषकका उत्पादनलाई पहिचान दिलाउने यसको मुख्य उद्देश्य रहेको छ।

नगरपालिकाभित्रका सबै वडाका किसानहरूले उत्पादन गरेका उत्कृष्ट अर्गानिक तरकारी, फलफूल र अन्नबालीका स्टलहरू राखिनेछ भने लोप हुन लागेका कागुनो, कोदो, फापर, लहे जस्ता रैथाने बाली र तीबाट बन्ने स्वास्थ्यवर्द्धक परिकारको विशेष प्रदर्शनी हुनेछ।

त्यस्तै थोपा सिँचाइ, टनेल खेती, सुधारिएको गोठ र आधुनिक कृषि औजारहरूका बारेमा जानकारी दिइनेछ, व्यावसायिक मौरीपालन र च्याउ खेतीका विभिन्न प्रजातिहरूको प्रदर्शनी गरिनेछ भने उत्कृष्ट कृषि उपज, पोषणयुक्त परिकार र युवाहरूबीच कृषि–वातावरण सम्बन्धी हाजिरीजवाफ प्रतियोगिता गराई कृषकहरूलाई पुरस्कृत गरिनेछ।

मेलामा किसानहरूले आफ्ना समस्याका विषयमा कृषि वैज्ञानिक र विज्ञहरूसँग प्रत्यक्ष छलफल गर्न पाउने गरी ‘संवाद सत्र’ सञ्चालन गरिनेछ। यसका साथै होटल व्यवसायी र कृषकबीच व्यावसायिक सम्झौता, विषादी विरुद्धको सचेतनामूलक नाटक, र गर्भवती महिलाका लागि सन्तुलित भोजनको महत्त्वबारे जानकारीमूलक सामग्रीहरू समेत प्रदर्शन गरिने नगरपालिकाले जनाएको छ। यो मेलाले कृषिमा युवाहरूको आकर्षण बढाउन र भेरीगंगाको स्थानीय उत्पादनलाई राष्ट्रिय बजारसँग जोड्न कोसेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३ वैशाख २४ गते बिहीबार