सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट तर्जुमा गर्दा परम्परागत र खर्चमुखी सोच त्याग्न मातहतका निकाय र स्थानीय तहलाई कडा निर्देशन दिनुभएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कर्णाली प्रदेश समन्वय परिषद्को एघारौँ बैठकलाई सम्बोधन गर्दै उहाँले ‘कागजमा मात्र सीमित नभई’ भुइँमा कार्यान्वयन गर्न सकिने र ठोस प्रतिफल दिने आयोजना मात्र छनौट गर्न आग्रह गर्नुभयो। “हामीले अब केवल बजेट सिध्याउने आयोजना होइन, प्रदेशलाई आत्मनिर्भर बनाउने आयोजना रोज्नुपर्छ,” कँडेलले विकासको नयाँ मानक प्रस्तुत गर्दै भन्नुभयो।
प्रदेश र स्थानीय तहको आर्थिक जग बलियो बनाउन मुख्यमन्त्रीले पाँचवटा क्षेत्रलाई विशेष प्राथमिकतामा राख्न सुझाउनुभएको छ। उहाँका उत्पादन बढाएर खाद्यान्नमा आत्मनिर्भर हुने, कर्णालीको प्राकृतिक सम्पदालाई आम्दानीको स्रोत बनाउने, ऊर्जा र सिँचाइको अधिकतम उपयोग र रोजगारी सिर्जना र सेवा प्रवाहमा विविधीकरण गर्नुपर्ने बताउनु भयाे ।

मुख्यमन्त्री कँडेलले संरचनात्मक सुधारबिना विकासको लक्ष्य भेटाउन नसकिने स्पष्ट पार्नुभयो। उहाँले वित्तीय अनुशासन, पारदर्शिता र जवाफदेहितालाई सुदृढ बनाउन स्थानीय तहहरूलाई आग्रह गर्नुभयो। विशेषगरी बेरुजु फर्छ्यौटमा तदारुकता देखाउन र आफ्ना स्रोतसाधनको अधिकतम परिचालन गरी आन्तरिक राजस्व वृद्धिमा केन्द्रित हुन उहाँको जोड थियो। संघीयताको मूल मर्मअनुसार तीन तहका सरकारबीच ‘सहकार्य, सहअस्तित्व र समन्वय’ भए मात्रै आर्थिक समृद्धि सम्भव हुने उहाँले दोहोर्याउनुभयो।
प्रतिक्रिया दिनुहोस्