२०८३ साउन १० , आइतबार
वीरेन्द्रनगरमा सरकारी जग्गा खाली गरिँदै

सातदिनभित्र अतिक्रमण हटाउन नगरपालिकाको कडा अल्टिमेटम



सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले सरकारी तथा सार्वजनिक जग्गाको दोहन रोक्न र व्यवस्थित सहरीकरणका लागि कडा कदम चालेको छ। नगरपालिकाले बुधबार एक सार्वजनिक सूचना जारी गर्दै नगर क्षेत्रभित्रका सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घरटहरा हटाउन ७ दिने अन्तिम म्याद दिएको हो। नगरपालिकाको यो कदमले सार्वजनिक सम्पत्तिको संरक्षण र विकास निर्माणका योजनालाई गति दिने अपेक्षा गरिएको छ।

नगरपालिकाले जारी गरेको सूचनाअनुसार विशेष गरी वडा नं. ८ स्थित महिला छात्रावासको पूर्वतर्फ रहेको जग्गालाई लक्षित गरिएको छ। उक्त स्थानमा रहेका अवैध संरचना मात्र नभई नगर विकास समितिसँग सम्झौता गरी निर्माण गरिएका भौतिक संरचनाहरू समेत हटाउन अनुरोध गरिएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशन र चालु आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत नीति, कार्यक्रम तथा बजेटअनुसार उक्त स्थानमा ‘खेलकुद मैदान’ निर्माण गर्ने योजना नगरपालिकाको छ।

नगरपालिकाले तोकेको ७ दिने समयसीमाभित्र संरचना नहटाएमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ। सूचनामा उल्लेख भएअनुसार ​तोकिएको समयभित्र स्वैच्छिक रूपमा अतिक्रमण नहटाएमा नगरपालिकाले आफ्नै सक्रियतामा ती संरचनाहरू भत्काउनेछ भने ​संरचना हटाउँदा वा भत्काउँदा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित संरचनाधनीबाटै असुलउपर गरिनेछ।

नगरपालिकाको यो सूचनाले वीरेन्द्रनगरको सुशासन र व्यवस्थित पूर्वाधार विकासको प्रतिबद्धतालाई पुनः उजागर गरेको छ। विकासका साझा योजनाहरू कार्यान्वयन गर्न र सार्वजनिक जग्गाको सुरक्षा गर्न चालेको यो ‘एक्सन’ ले नगरको सौन्दर्यीकरण र खेलकुद क्षेत्रको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने देखिएको छ।

प्रकाशित मिति : २०८३ वैशाख २३ गते बुधबार