२०८३ साउन ११ , सोमबार
भेरीको अवैध दोहन रोक्न प्रहरी 'एक्सन'

१७ सवारी साधन नियन्त्रण, पालिकालाई बुझाइने



सुर्खेत । सुर्खेतको लाइफलाइन मानिने भेरी नदीबाट जथाभावी ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गर्ने क्रम नरोकिएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतले कठोर कदम चालेको छ। नदीको प्राकृतिक बहाव नै सङ्कटमा पर्ने गरी मेसिनरी प्रयोग भइरहेको विशेष सूचना र पालिकाको आग्रहका आधारमा प्रहरीले भेरीगंगा र लेकवेशी नगरपालिकाका विभिन्न क्षेत्रमा छापा मारेको हो। यस क्रममा मापदण्ड विपरीत उत्खननमा संलग्न १७ वटा सवारी साधनहरूलाई प्रहरीले स्थलगत रूपमै नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख सुदिरराज शाहीका अनुसार प्रहरी टोलीले भेरीगंगा नगरपालिका–१३ को सालटाकुरा र लेकवेशी नगरपालिका–७ को पटारे क्षेत्रबाट अवैध उत्खननमा प्रयोग भइरहेका उपकरणहरू बरामद गरेको हो। प्रहरीले ​१२ वटा टिप्पर, ​२ वटा ट्रयाक्टर, ​२ वटा जेसीभी (JCB) र ​१ वटा स्काभेटर नियन्त्रणमा लिएकाे छ ।

नदीजन्य पदार्थ उत्खनन गर्दा सम्बन्धित स्थानीय तहले तयार पारेको वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) प्रतिवेदनको पूर्ण पालना गर्नुपर्ने कानुनी व्यवस्था छ। तर, ठेकेदार र व्यवसायीहरूले मेसिन प्रयोग गर्न निषेध गरिएको संवेदनशील क्षेत्रमा समेत भारी उपकरण लगाएर नदीको स्वरूप नै बिगारिरहेको भेटिएको छ। मेसिनको जथाभावी प्रयोगले नदीको बहाव प्रभावित हुनुका साथै जलचर र आसपासको वातावरणमा समेत गम्भीर असर पुग्ने देखिएको छ।

​जिल्ला प्रहरी प्रमुख शाहीले उत्खनन आफैँमा अवैध नभए पनि तोकिएको विधि र प्रक्रिया मिचिएकाले कारबाही गरिएको स्पष्ट पार्नुभएको छ। ​”पालिकाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा उल्लेख भए विपरीत नदीमै भारी सवारी प्रयोग गरेर उत्खनन गरिरहेको भेटियो, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख सुदिरराज शाहीले भने, हामीले नियन्त्रणमा लिएका यी सवारीहरूलाई थप कारबाहीका लागि सम्बन्धित पालिकामा पठाउँदैछौँ।”

​नियन्त्रणमा लिइएका ती सवारी साधनहरू अब सम्बन्धित नगरपालिकाको जिम्मा लगाइनेछ। प्राकृतिक स्रोतको यसरी अवैध दोहन गर्नेहरूलाई स्थानीय सरकारले कस्तो जरिवाना र कानुनी कारबाही गर्छ भन्ने विषय भने अहिले खुल्न बाँकी छ। प्रहरीको यो सक्रियताले कर्णालीका नदीहरूको दोहन रोक्न र प्राकृतिक स्रोतको संरक्षणमा सकारात्मक दबाब सिर्जना गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३ वैशाख २३ गते बुधबार