सुर्खेत । कालोपत्रेका लागि अनिवार्य कच्चा पदार्थ ‘बिटुमिन’ को चरम अभाव भएपछि कर्णाली प्रदेशका महत्वपूर्ण सडक आयोजनाहरूको काम रोकिएको छ। चालू आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएका सडक खण्डहरू बिटुमिन नपाउँदा अलपत्र परेका हुन्।
भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका सचिव अर्जुनकुमार बमका अनुसार सामग्री अभाव र अचाक्ली मूल्यवृद्धिका कारण काम अघि बढ्न सकेको छैन। फागुन मध्यसम्म प्रतिकिलो ९० रुपैयाँ पर्ने बिटुमिनको मूल्य अहिले बजारमा २५० रुपैयाँ नाघेको छ।
कर्णाली प्रदेश निर्माण व्यवसायी महासंघका महासचिव मानव बम भन्छन्, “तेब्बर महँगो मूल्य हालेर कसरी काम गर्ने? बजेट खर्च हुने मुख्य समयमै अभाव सिर्जना हुँदा सबै योजना प्रभावित भएका छन्।”
प्रदेश सरकारले यस वर्ष १६१ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखेको थियो। तर, चैत मसान्तसम्मको प्रगति हेर्दा मात्र ५३.२६ किलोमिटर काम सम्पन्न भएको छ।

वीरेन्द्रनगरमा कालाेपत गरिएकाे सडक
सिजनको अन्त्यतिर सामग्री अभाव र मूल्यवृद्धिको चपेटामा परेपछि कर्णालीको सडक पूर्वाधार विकासमा यस वर्ष ठूलो धक्का लाग्ने देखिएको छ। महँगोमा सामग्री खरिद गर्न नसक्ने व्यवसायीको अडान र सरकारको सुस्त तयारीले बजेट फ्रिज हुने जोखिम समेत बढेको छ।
प्रतिक्रिया दिनुहोस्