सुर्खेत| राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश कुमार सापकोटाले वर्तमान सुर्खेत विमानस्थलको विस्तार नै अहिलेको उत्तम विकल्प भएको बताएका छन्। मंगलबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सुर्खेत क्षेत्र नम्बर २ का सांसद सापकोटाले नयाँ विमानस्थलका चर्चा चले पनि तत्कालका लागि भइरहेकै विमानस्थललाई सुविधासम्पन्न बनाउनु उपयुक्त हुने धारणा राखेका हुन् ।

लामो समयदेखि विस्तारको चर्चा भए पनि राजनीतिक खिचातानीका कारण काम अघि बढ्न नसकेकोमा उनले चिन्ता व्यक्त गरे। विमानस्थल विस्तारको अनिश्चितताले गर्दा प्रभावित क्षेत्रका नागरिकहरू निकै सास्ती र अन्योलमा परेको उल्लेख गर्दै सांसद सापकोटाले भने, ‘यो अन्योलता चाँडै अन्त्य गराउन म लागिपरेको छु’।
यस्तै सांसद सापकोटाले वर्षौंदेखि अलपत्र अवस्थामा रहेको पश्चिम सुर्खेतको चौकुने सिमेन्ट कारखाना सञ्चालनका लागि समेत आफूले पहल थालेको जानकारी दिए । उनले चाैकुने सिमेन्ट कारखानाको काम अघि बढ्न नसक्नुमा प्रक्रियागत समस्याहरू रहेको र यस विषयमा केही दिनअघि मात्रै आफू स्वयम् उद्योग मन्त्रालय पुगेर ठोस छलफल गरेको उनले खुलाए।
सुर्खेतका यी दुई ठुला परियोजनाहरूलाई गति दिन सके यस क्षेत्रको आर्थिक र पूर्वाधार विकासमा ठुलो सहयोग पुग्ने विश्वास सांसद सापकोटाले व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस्