वीरेन्द्रनगर | कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णालीलाई हेर्ने पुरानो ‘गरिब र अशिक्षित’ मानसिकता त्यागेर समृद्धिको नयाँ बाटोमा लाग्न युवाहरूलाई आग्रह गर्नुभएको छ। वीरेन्द्रनगरमा आयोजित ‘कर्णाली युवा महोत्सव’को समापन समारोहलाई सम्बोधन गर्दै उहाँले कर्णाली हीनताबोध गर्ने ठाउँ नभई सम्भावनाले भरिएको क्षेत्र भएको बताउनुभयो।
’कृषि क्रान्ति नै समृद्धिको आधार’
सम्बोधनका क्रममा प्रदेश प्रमुख जोशीले कर्णालीको उज्ज्वल भविष्य कृषिसँग जोडिएको उल्लेख गर्नुभयो। रोजगारीका लागि मुग्लान (भारत र तेस्रो मुलुक) पस्नुपर्ने बाध्यता अन्त्य गर्न कृषि क्षेत्रमा क्रान्ति आवश्यक रहेको उहाँको तर्क थियो। उहाँले भन्नुभयो, “युवाहरूलाई आफ्नै माटोमा स्वरोजगार बनाउन सरकारले ठोस कार्यक्रम ल्याउनुपर्छ। कृषिका लागि ठुलो लगानी भन्दा पनि तीनै तहका सरकारबीच सही नीति र समन्वयको खाँचो छ।”
१० युवालाई ‘कर्णाली युथ आइकन अवार्ड’
महोत्सवको समापनको अवसरमा कर्णालीलाई कर्मथलो बनाएर विभिन्न क्षेत्रमा अतुलनीय योगदान पुर्याउने १० जना युवाहरूलाई ‘कर्णाली युथ आइकन अवार्ड’ बाट सम्मानित गरिएको छ। प्रदेश प्रमुख जोशीले उनीहरूलाई अवार्ड प्रदान गर्नुभएको हो। प्रदेश प्रमुख जोशीले कर्णालीको स्वास्थ्य क्षेत्रमा योगदान पु¥याएवापत नेत्र रोग विशेषत्र डाक्टर आकांक्षा रानालाई युथ आइकन अवार्ड प्रदान गरे । यस्तै, पत्रकारिताको तर्फबाट चाँदनी कठायत, गीत संगिततर्फ इब्सल सन्ज्याल, शिव संगित, युवा व्यवसायीतर्फ मनिषजंग शाही, युवा उद्यमीतर्फ प्रमिला बुढा, सामाजिक क्षेत्र हिक्मत वादी, समाजसेवीका रुपमा हरि कँडेल, चलचित्रतर्फ केशव थापा, युवा उत्प्रेरक आदर्शविक्रम सिंहले युथ अवार्ड प्राप्त गरेका छन् ।

गत शनिबारदेखि सुरु भएको यस महोत्सवमा प्रदेशभरका युवाहरूले विकास, नेतृत्व र उद्यमशीलताका विषयमा गहन मन्थन गरेका थिए। युवाहरूको यो सक्रियताले समृद्ध कर्णाली निर्माणमा नयाँ इँटा थप्ने विश्वास लिइएको छ।
प्रतिक्रिया दिनुहोस्