सुर्खेत | सुर्खेतको भेरीगंगा नगरपालिका–१२ स्थित झिगेनारा खोलामा एक युवती मृत अवस्थामा फेला परेकी छिन्। गुर्भाकोट नगरपालिका–५ की २६ वर्षीया प्रेमा ओली आइतबार दिउँसो खोलाको पानीमा घोप्टो परेको अवस्थामा मृत भेटिएकी हुन्।
आफन्तद्वारा शवको पहिचान
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डीएसपी मोहनजंग बुढथापाका अनुसार आइतबार बेलुका मात्र मृतकको पहिचान खुलेको हो। घटनास्थलमा पुगेका आफन्तले शव प्रेमाको भएको पुष्टि गरेका छन्। रत्न राजमार्गको छिन्चु–सुब्बाकुना सडक खण्डअन्तर्गत छिन्चु बजारबाट करिब एक किलोमिटरको दूरीमा शव फेला परेको थियो।
शङ्कास्पद मृत्यु र प्रहरी अनुसन्धान
प्रहरीका अनुसार प्रेमा शनिबार बिहान ‘छिन्चु बजार जान्छु’ भन्दै घरबाट निस्किएकी थिइन्। उनी साँझसम्म घर नफर्किएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए। उनका श्रीमान् नेपाली सेनामा कार्यरत छन् भने घरमा सासू-ससुरा र एक छोरीसँग उनी बस्दै आएकी थिइन्।
शवको प्रकृति हेर्दा मृत्यु शङ्कास्पद देखिएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ। डीएसपी बुढथापाले भन्नुभयो, “मृतकको शरीरमा घाउ र चोटहरू देखिएका छन्। घटनास्थलको स्थिति हेर्दा शङ्का गर्ने ठाउँ भएकाले हामीले अत्यन्तै गम्भीर भएर अनुसन्धान अघि बढाएका छौँ।”

कुकुरसहितको विज्ञ टोली घटनास्थलमा
घटनाको सूक्ष्म अनुसन्धानका लागि नेपालगन्जस्थित प्रहरीको केनाइन शाखाबाट तालिमप्राप्त कुकुरसहितको टोली सुर्खेत आइपुगेको छ। प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाएको छ। पोस्टमार्टम रिपोर्ट आएपछि मृत्युको वास्तविक कारण खुल्ने प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्