सुर्खेत | सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ स्थित झुप्रा खोला किनारमा रहेको बादी समुदायको बस्ती बाढीको उच्च जोखिममा परेको छ। खोलामा मेसिन प्रयोग गरी भइरहेको अनियन्त्रित ढुङ्गा, गिट्टी र बालुवा उत्खननका कारण बस्ती नै जोखिममा परेको तथ्य एक अध्ययनले उजागर गरेको हो।
‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी मिडिया एड्भोकेसी’ कार्यक्रममा फोटो पत्रकार मानबहादुर वलीले प्रस्तुत गरेको ‘फोटो स्टोरी’ ले झुप्रा खोला र भेरी नदी किनारको भयावह स्थिति चित्रण गरेको छ। २०७७ सालदेखि वीरेन्द्रनगर र लेकवेशी नगरपालिकाले आलोपालो ठेक्का प्रक्रियामार्फत मेसिन प्रयोग गरी उत्खनन गर्न दिँदा खोला गहिरिँदै गएको र यसले वर्षायाममा सिङ्गो बस्ती नै कटानमा पर्ने खतरा बढेको छ। जहाँ झुप्रा खोला किनारमा करिब १ सय ८३ घरपरिवार रहेको अनुमान छ, तर नगरपालिकासँग यसको कुनै आधिकारिक तथ्याङ्क छैन। वर्षायाम नजिकिँदै गर्दा पनि नगरपालिकाले यो जोखिमपूर्ण क्षेत्रमा बाढीको पूर्वतयारी र सुरक्षाका लागि खासै प्राथमिकता दिएको देखिँदैन
युएनडिपीको प्राविधिक सहयोगमा आयोजित उक्त कार्यक्रममा झुप्रा खोला मात्र नभई वीरेन्द्रनगरका अन्य १० जोखिमपूर्ण क्षेत्रबारे पनि चर्चा गरिएको थियो। जसमा निकास खोलाको डुबान र इत्राम खोला किनारको असुरक्षित आवास, रातानाङ्लाको मौसमी राडारको वर्तमान अवस्था र लोपोन्मुख राउटे समुदायले भोग्दै आएको विपद् जोखिम छ ।

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाको विपद् व्यवस्थापन समिति संयोजक खिमलाल देवकोटाले आगामी बजेटमार्फत यो बस्तीलाई व्यवस्थित गर्न ध्यान दिइने बताउनुभयो। कतिपयको दोहोरो घर हुनु र अस्थायी बसोबासका कारण व्यवस्थापनमा केही जटिलता देखिए पनि अब यसलाई प्राथमिकतामा राखिने उहाँको भनाइ छ। यस्तै, नगरपालिकाका फोकल पर्सन प्रकाश पौडेलले नीतिगत सुधारसहित बस्ती व्यवस्थापनमा विशेष ध्यान दिने प्रतिबद्धता जनाउनुभएको छ।
प्रतिक्रिया दिनुहोस्