सुर्खेत | वीरेन्द्रनगर–३ की २५ वर्षीया बिनु थापा अहिले तीन सन्तानकी आमा भइसक्नुभयो। १७ वर्षमै वैवाहिक बन्धनमा बाँधिनुभएकी उहाँका बाल्यकालका रहरहरू जिम्मेवारीको बोझमुनि थिचिएका छन्। बिनु मात्र होइन, १६ वर्षमै विवाह बन्धनमा परेकी रमा विकको व्यथा पनि उस्तै छ। २० वर्ष पुग्दा नपुग्दै दुई सन्तानकी आमा बनिसक्नुभएकी रमा अहिले काखे नानी च्यापेर घरधन्दामा सीमित हुनुहुन्छ।
बिनु र रमा कर्णालीका ती हजारौँ किशोरीहरूको प्रतिनिधि पात्र मात्र हुन्, जो उमेर नपुग्दै विवाह र मातृत्वको चक्रमा फसिरहेका छन्।
राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कले कर्णालीमा बालविवाहको स्थिति निकै चुनौतीपूर्ण रहेको देखाउँछ । कर्णालीमा २ प्रतिशत बालबालिकाको १५ वर्ष नपुग्दै विवाह हुने गरेको छ । जसमा महिला ३.१% र पुरुष ०.६% छन। २०.१ प्रतिशतको विवाह १८ वर्ष नपुग्दै हुने गरेको छ, जसमा २९ प्रतिशत किशोरीहरू रहेका छन्। कर्णालीमा २० वर्ष नपुग्दै विवाह गर्ने दर ४३.६ प्रतिशत पुगेको छ। यसमा महिलाको हिस्सा ५५.६ प्रतिशत र पुरुषको २९.२ प्रतिशत रहेको छ।यो तथ्याङ्क नेपालको औसत दर (१.९%) भन्दा पनि बढी छ, जसले कर्णालीमा बालविवाहको गम्भीरतालाई प्रस्ट पार्छ।
चुनौती र सरोकारवालाको चिन्ता
वीरेन्द्रनगरमा आयोजित ‘बालविवाह, बालयौन दुव्र्यवहार तथा बालअधिकार’ सम्बन्धी कार्यशालाका सहभागीहरूले बालविवाह तोडेर बालबालिकालाई स्कुल फर्काउनु ठुलो चुनौती बनेको बताएका छन्। कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले चेतनाको अभाव र गरिबीका कारण बालविवाह न्यूनीकरणमा समस्या भइरहेको उल्लेख गर्नुभयो।
शिक्षा र मनोरञ्जनको उमेरमा जिम्मेवारीको भारी बोक्न बाध्य पारिएका कर्णालीका बालबालिकाको भविष्य सुरक्षित गर्न सामाजिक चेतना र कानुनी कडाइ दुवै आवश्यक देखिएको सरोकारवालाहरूको निष्कर्ष छ।
प्रतिक्रिया दिनुहोस्