२०८३ साउन ११ , सोमबार
रैथाने बालीलाई विश्वव्यापी ब्रान्ड बनाउने तयारी

कर्णालीकाे उत्पादनमा जिआइ संकेत राखिने



सुर्खेत । कर्णाली प्रदेशका रैथाने बाली तथा स्थानीय उत्पादनलाई विश्वबजारमा स्थापित गर्ने उद्देश्यसहित ‘भौगोलिक सङ्केत’ (GI) प्रदान गर्ने प्रक्रिया अघि बढाइएको छ। कुनै विशेष स्थानसँग सम्बन्धित उत्पादनलाई सोही ठाउँको नामबाट पहिचान दिलाई कानुनी रूपमा ब्रान्डिङ गर्ने लक्ष्यका साथ यो पहल सुरु गरिएको हो।

यसका लागि अन्तर्राष्ट्रिय सहकार्यसमेत अघि बढाइएको छ। संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (FAO) ले सङ्घीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग सहकार्य गर्दै आवश्यक कानुन निर्माण तथा जनचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिरहेको छ। सुर्खेतमा आयोजित एक प्रादेशिक सचेतना कार्यक्रममा विज्ञहरूले कर्णालीका जुम्ली मार्सी, स्याउ, टिमुर र विभिन्न जडीबुटीलाई GI ट्याग दिएर अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न सकिने धारणा राखेका छन्।

भौगोलिक सङ्केतको आवश्यकता बहुआयामिक रूपमा देखिन्छ। यसले कर्णालीका उत्पादनलाई विश्वबजारमा छुट्टै पहिचान दिलाउने मात्र होइन, उच्च मूल्य र उपभोक्ताको विश्वाससमेत बढाउने अपेक्षा गरिएको छ। साथै, यसलाई कृषकको बौद्धिक सम्पत्तिका रूपमा कानुनी संरक्षण गर्न सकिने विज्ञहरूको भनाइ छ। GI कार्यान्वयनसँगै बिचौलियाको भूमिका घट्दै प्रत्यक्ष निर्यातको सम्भावना बढ्ने र त्यसले कृषकको आम्दानीमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ। उत्पादनलाई कानुनी मान्यता प्राप्त हुँदा विदेश निर्यात प्रक्रियासमेत सहज हुने बताइएको छ।

प्रारम्भिक चरणमा कर्णालीका तीनदेखि चार प्रमुख उत्पादनलाई नमुना रूपमा छनोट गरी प्रक्रिया अघि बढाइने योजना छ। टिमुर, ओखर, स्याउ, अदुवा, बेसार, आलु, जडीबुटी तथा मार्सी धानजस्ता रैथाने बालीहरू GI का लागि सम्भावित दाबेदारका रूपमा हेरिएका छन्।

कार्यक्रममा सहभागी कृषक तथा व्यवसायीहरूले रैथाने बाली क्रमशः लोप हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै संरक्षणका साथै प्रशोधन केन्द्र स्थापना गर्नुपर्नेमा जोड दिएका छन्। उत्पादन भए पनि उचित बजारीकरण र प्रशोधन अभावका कारण अपेक्षित लाभ लिन नसकिएको उनीहरूको गुनासो रहेको छ।

सरकारले यो नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकेमा कर्णालीका अर्गानिक उत्पादनले अन्तर्राष्ट्रिय बजारमा बलियो स्थान बनाउने र स्थानीय अर्थतन्त्रमा उल्लेखनीय सुधार आउने विश्वास गरिएको छ।

प्रकाशित मिति : २०८३ वैशाख १९ गते शनिबार