२०८३ भदौ ३० , मंगलबार
​राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस

सुर्खेतमा एआईको बहस र शिक्षकहरूलाई प्रविधि प्रशिक्षण



सुर्खेत । “सूचना प्रविधिको विस्तारः दिगो विकासको आधार” भन्ने मूल सङ्कल्पका साथ सुर्खेतमा ‘राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८३’ भव्यताका साथ मनाइएको छ। यसै अवसरमा क्यान महासङ्घ सुर्खेत शाखाले आयोजना गरेको एकदिने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी तालिमले सुर्खेतको प्रविधि क्षेत्रमा नयाँ बहसको सुरुवात गरेको छ। वीरेन्द्रनगर–६ स्थित अमेरिकन कर्नरमा आयोजित उक्त कार्यक्रममा सहभागीहरूले प्रविधिको पछिल्लो विकाससँगै आफूलाई कसरी अद्यावधिक राख्ने भन्ने विषयमा व्यवहारिक ज्ञान हासिल गरेका छन्।

​विज्ञहरूको मत: समाज रूपान्तरणमा प्रविधिको भूमिका

कार्यक्रमका प्रमुख अतिथि एवं सुर्खेत उद्योग वाणिज्य सङ्घका उपमहासचिव पूर्णदेव अधिकारीले सूचना प्रविधि अब विलासिता नभई आवश्यकता बनिसकेको उल्लेख गर्नुभयो। उहाँले यस्ता तालिमले विशेषगरी युवा र शिक्षकहरूलाई प्रविधिमैत्री बनाउँदै समाजको हरेक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो। त्यस्तै, क्यान महासङ्घ कर्णालीका उपाध्यक्ष टेक बहादुर थापा र पूर्व अध्यक्ष प्रेमप्रकाश चन्दले एआईको वर्तमान प्रयोग र भविष्यका सम्भावनाहरूलाई नजरअन्दाज गर्न नहुने भन्दै यस्ता सीपमूलक कार्यक्रमहरूको निरन्तरतामा जोड दिनुभयो।

​कक्षाकोठामा एआई: डिजिटल शिक्षाको नयाँ प्रयोग

क्यान महासङ्घ सुर्खेतका अध्यक्ष एवं तालिमका प्रशिक्षक डिबी रानाले एआईका आधारभूत पक्ष, यसको प्रयोगका क्षेत्र र डिजिटल युगमा यसले पार्ने प्रभावबारे सहभागीहरूलाई सहजीकरण गर्नुभयो। विशेषगरी सामुदायिक विद्यालयका शिक्षकहरूको सहभागिता रहेको यस तालिमले परम्परागत शिक्षण पद्धतिलाई प्रविधिमार्फत कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेमा केन्द्रित थियो। प्रशिक्षक एवम् क्यान महासंघ सुर्खेतका अध्यक्ष डिबी रानाले ​”एआईको प्रयोगले शिक्षकहरूलाई सूचना सङ्कलन र प्रस्तुतीकरणमा सहज बनाउँदै डिजिटल माध्यमबाट विद्यार्थीहरूलाई नयाँ प्रविधिसँग परिचित गराउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।

​सहभागिता र उपलब्धि

विभिन्न सामुदायिक विद्यालयका शिक्षकहरूसहित ३० जनाको सहभागिता रहेको उक्त तालिमले सूचना प्रविधिप्रतिको रुचि र ज्ञान अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको छ। तालिमपश्चात् सहभागीहरूले डिजिटल माध्यमको प्रयोगमार्फत कक्षा शिक्षणलाई अझ प्रभावकारी र रोचक बनाउन सक्ने आत्मविश्वास व्यक्त गरेका छन्। यस कार्यक्रमले कर्णालीको शैक्षिक क्षेत्रलाई आधुनिक प्रविधि र सूचना प्रणालीसँग जोड्न एउटा बलियो आधार खडा गरेको आयोजकको ठम्याइ छ।

प्रकाशित मिति : २०८३ वैशाख १९ गते शनिबार