२०८३ भदौ २९ , सोमबार
​प्रदेश अस्पतालको हेलिप्याडमा सफल परीक्षण उडान

अब आकाशबाट सिधै उपचार कक्षसम्म



सुर्खेत ।  कर्णाली र सुदूरपश्चिमका दुर्गम जिल्लाबाट हेलिकप्टरमार्फत उद्धार गरिने गम्भीर बिरामीका लागि अब समयको बचत र उपचारमा सहजता हुने भएको छ। सुर्खेतस्थित प्रदेश अस्पतालको भवनमै निर्माण गरिएको हेलिप्याडमा शुक्रबार सफल ‘परीक्षण उडान’ सम्पन्न भएसँगै आकस्मिक स्वास्थ्य सेवामा एउटा ठुलो कोसेढुङ्गा थपिएको हो। यसअघि हेलिकप्टरबाट ल्याइएका बिरामीलाई सुर्खेत विमानस्थलमा ओरालेर त्यहाँबाट एम्बुलेन्समार्फत अस्पताल पुर्‍याउनुपर्ने बाध्यता थियो, जसले गर्दा ट्राफिक र समयका कारण बिरामीको ज्यान नै जोखिममा पर्ने अवस्था रहन्थ्यो। अब भने बिरामीलाई सिधै अस्पतालको छतमा ओरालेर तत्काल उपचार सुरु गर्न सकिनेछ।

नेपाली सेनासँगको प्राविधिक सहकार्य

यो महत्त्वपूर्ण सफलताका पछाडि नेपाली सेनाको उत्तर–पश्चिम पृतना हेडक्वाटर अन्तर्गतको पश्चिम एयर बेस हवाई सेवाको प्राविधिक सहकार्य रहेको छ। बिहीबार हेलिप्याडको सूक्ष्म प्राविधिक चेकजाँच गरेपछि शुक्रबार सेनाकै हेलिकप्टरमार्फत परीक्षण उडान गरिएको अस्पतालका सूचना अधिकारी अनिता ज्ञवालीले जानकारी दिनुभयो। अस्पतालको यो महत्त्वाकाङ्क्षी ‘हवाई उद्धार सेवा’ योजनालाई मूर्त रूप दिन सेनाको प्राविधिक टोलीले समन्वयकारी भूमिका खेलेको छ।

आकस्मिक स्वास्थ्य सेवामा नयाँ युगको सुरुवात

अस्पताल प्रशासनले यस हेलिप्याडको सञ्चालनलाई ‘जीवन रक्षाको द्रुत मार्ग’का रूपमा लिएको छ। अस्पतालका लेखा प्रमुख प्रकाश शर्माका अनुसार, यो सेवा विशेष गरी जाजरकोट, रुकुम, डोल्पा, हुम्ला जस्ता पहाडी तथा हिमाली जिल्लाका जटिल प्रसूति र आकस्मिक दुर्घटनामा परेका बिरामीका लागि बरदान सावित हुनेछ। अस्पतालको आफ्नै संरचनाभित्र हेलिकप्टर अवतरण हुनुले कर्णालीको समग्र स्वास्थ्य प्रणालीलाई नै आधुनिक र प्रभावकारी बनाएको छ।

“समय नै जीवन हो” भन्ने मान्यतालाई आत्मसात गर्दै निर्माण गरिएको यो हेलिप्याड अब पूर्ण रूपमा प्रयोगका लागि तयार भएको छ। यसले अस्पतालको सेवालाई केवल भौतिक पूर्वाधारमा मात्र सीमित नराखी ‘थप प्रभावकारी र शीघ्र’ बनाउन मद्दत पुर्‍याएको छ। यो सफल परीक्षणसँगै प्रदेश अस्पताल सुर्खेतले जटिल बिरामीको हवाई उद्धार र तत्काल उपचारमा देशकै अग्रणी स्वास्थ्य संस्थाका रूपमा आफ्नो परिचय अझ सुदृढ बनाएको छ।

प्रकाशित मिति : २०८३ वैशाख १८ गते शुक्रबार