सुर्खेत | नेपाली कांग्रेसले पार्टी संगठनलाई जगैदेखि मजबुत बनाउने लक्ष्यका साथ अघि सारेको ‘जरा अभियान’ कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट औपचारिक रूपमा सुरु भएको छ। पार्टीमा नयाँ जागरण र रूपान्तरण ल्याउने उद्देश्यले वीरेन्द्रनगर नगरपालिका–१० बाट यो अभियानको थालनी गरिएको हो।

अभियानको सुरुवात र लक्ष्य
केन्द्रीय सदस्य तिर्थजंग शाहीले आफ्नो क्रियाशील सदस्यता अद्यावधिक गर्दै अभियानको उद्घाटन गर्नुभयो। कार्यक्रममा केन्द्रीय प्रतिनिधि एवं केन्द्रीय सदस्य नारायणप्रसाद भट्टराईले ‘जरा अभियान’ले पार्टीको संगठनलाई मजबुत बनाउने र कार्यकर्तामा नयाँ ऊर्जा भर्ने विश्वास व्यक्त गर्नुभयो। राष्ट्रियता, लोकतन्त्र, संघीयता र सामाजिक एकतालाई सुदृढ बनाउँदै नागरिकको विश्वास जित्नु यो अभियानको मुख्य लक्ष्य रहेको छ।
अब डिजिटल प्रणालीबाटै सदस्यता व्यवस्थापन
कांग्रेसले आफ्नो संगठनलाई आधुनिक बनाउन क्रियाशील सदस्यता व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा लैजाने निर्णय गरेको छ। यस अभियान अन्तर्गत प्रत्येक क्रियाशील सदस्यले आफ्नै वडा कार्यसमितिमा स्वयं उपस्थित भएर विवरण अद्यावधिक गर्नुपर्नेछ।सदस्यता नवीकरण र अद्यावधिकको काम अब डिजिटल माध्यमबाट मात्र हुनेछ भने वैशाख महिनाभित्र सदस्यता नवीकरण नगर्ने सदस्यहरूले आगामी १५ औँ महाधिवेशनमा भाग लिन पाउने छैनन्।
जिल्लाभर विस्तार गरिँदै
वडा नम्बर १० का सभापति रविन्द्र शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य जानकी सिंह, पूर्व सभापति कमलराज रेग्मी, सचिव बालदेव कँडेल लगायतका नेताहरूको उपस्थिति थियो। यो अभियान अब सुर्खेतका सबै ९९ वटै वडामा सञ्चालन गरिने र यसका लागि प्रत्येक वडामा प्रतिनिधिहरू खटाइने पार्टीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्