
सुर्खेत । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दिपक थापाले कर्णाली प्रदेश मातहातका प्रहरी कर्मचारीलाई प्रदेशको समग्र शान्ति सुरक्षा बलियो बनाउन र विपद् प्रतिकार्यको योजना सहित अगाडि बढ्न निर्देशन दिएका छन् । सोमबार कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा आयोजित निर्देशन सम्बोधन कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक थापाले यस्तो निर्देशन दिएका हुन् ।

‘लागु औषध ओसारपसार, आत्महत्या र महिलाहिंसाका घटनाहरु बढ्दै गएका छन्, प्रहरीले यसको नियन्त्रणमा ध्यान दिनुपर्छ’ उनले भने, ‘अबैध ओसारपसार तथा अपराध नियन्त्रणका लागि प्रदेशका सबै नाकाहरुमा निगरानी कार्यलाई विशेष प्राथमिकता दिएर लाग्नुपर्छ ।’ उनले अपराध नियन्त्रणका लागि समुदायस्तरमा सचेतना फैलाउनुपर्ने बताए ।
उनले कर्णाली प्रदेश विपद्को उच्च जोखिममा रहेको भन्दै प्रतिकार्यका योजनाबद्ध ढंङ्गले अगाडि बढ्न समेत निर्देशन दिए । ‘कर्णाली भौगोलिक रुपमा विकट छ, यहाँ वर्षेनी बाढीपहिरो जस्ता विपद्जन्य घटना हुँदै आएका छन्’ उनले भने, विपद् प्रतिकार्यका लागि सबै निकायसँग आवश्यक समन्वय र तयारी गर्नुपर्छ ।’ कर्णालीको भौगोलिक विकटताका कारण सवारी दुर्घटनाको पनि उत्तिकै जोखिम रहेको भन्दै यसतर्फ पनि प्रहरीले निगरानी बढाउनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्