२०८३ साउन ११ , सोमबार
​वीरेन्द्रनगरमा ‘कर्णाली युवा महोत्सव’ को दोस्रो संस्करण

१० युवालाई ‘युथ आइकन अवार्ड’ प्रदान गरिने



सुर्खेत | कर्णाली प्रदेशका युवाहरूको साझा मञ्चको रूपमा स्थापित ‘कर्णाली युवा महोत्सव’ को दोस्रो संस्करण यही वैशाख १९ र २० गते प्रदेश राजधानी वीरेन्द्रनगरस्थित सिटी हलमा आयोजना हुने भएको छ। महोत्सवका संयोजक विनोदकुमार शाहीका अनुसार यस पटकको कार्यक्रम युवाहरूको मनोरञ्जनमा मात्र सीमित नभई उनीहरूको बौद्धिक, सामाजिक र सांस्कृतिक रूपान्तरणमा केन्द्रित रहनेछ।

​युवा मुद्धामा गहन मन्थन र संवाद

​महोत्सवमा प्रदेशका १० वटै जिल्ला र स्थानीय तहका युवाहरूको सहभागिता रहनेछ। कार्यक्रममा विशेष गरी विकास, शिक्षा, स्वास्थ्य र स्वरोजगारका समसामयिक मुद्दाहरूमा गहन छलफल गरिने संयोजक शाहीले जानकारी दिए। युवाहरूको सिर्जनशीलता र नेतृत्व क्षमतालाई उजागर गर्दै उनीहरूलाई राज्यको मूल विकास प्रक्रियामा जोड्नु महोत्सवको मुख्य लक्ष्य रहेको छ।

​महोत्सवमा मुख्य गरी  कर्णालीलाई विश्वस्तरमा चिनाउन उदाहरणीय कार्य गर्ने १० जना उत्कृष्ट युवाहरूलाई यस अवार्डबाट सम्मानित गरिनेछ। ओम रिजालद्वारा लिखित पुस्तक ‘पैकेलो’ माथि केन्द्रित रहेर विशेष अन्तर्क्रिया गरिनेछ।

त्यस्तै सामयिक विषयमा विज्ञहरूसँग युवाहरूको प्रत्यक्ष संवाद र छलफल सञ्चालन हुनेछ। कर्णालीको रैथाने कला-संस्कृति, देउडा खेल र विभिन्न साङ्गीतिक प्रस्तुतिहरू मार्फत युवाहरूलाई आफ्नो मौलिक पहिचानसँग जोडिने अवसर मिल्नेछ।

​समृद्ध कर्णालीका लागि युवा सहभागिता

​यो महोत्सव कर्णालीको पर्यटन प्रवर्द्धन, पूर्वाधार विकास र सामाजिक रूपान्तरणमा युवाहरूको भूमिका कस्तो हुनुपर्छ भन्ने दिशामा एउटा महत्वपूर्ण मार्गदर्शक बन्ने विश्वास गरिएको छ। आयोजकले यस ऐतिहासिक उत्सवमा सहभागी भई आफ्नो आवाज बुलन्द गर्न र सिक्ने-सिकाउने अवसरको सदुपयोग गर्न कर्णालीका सम्पूर्ण युवाहरूलाई आह्वान गरेको छ।

प्रकाशित मिति : २०८३ वैशाख १७ गते बिहीबार