सुर्खेत । केन्द्रीय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर ४ प्रतिशतको हाराहारीमा रहने प्रक्षेपण गरेको छ। सरकारले बजेटमार्फत ६ प्रतिशतको लक्ष्य राखे पनि विभिन्न आन्तरिक तथा बाह्य कारणले वृद्धिदरमा केही सङ्कुचन आउने देखिएको हो।

जीडीपीको आकार र वृद्धिदर
तथ्याङ्क कार्यालयका अनुसार यस वर्ष उपभोक्ता मूल्यमा आधारित कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ४.०१ प्रतिशतले बढेर ६६ खर्ब रुपैयाँ पुग्ने प्रारम्भिक अनुमान छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा जीडीपीको आकार ६१ खर्ब ९९ अर्ब रुपैयाँ रहेको थियो।
तर, अन्तर्राष्ट्रिय दातृ निकायहरूले भने नेपालको आर्थिक वृद्धिदर सरकारी प्रक्षेपणभन्दा कम हुने दाबी गरेका छन्। विश्व बैंकले २.३ प्रतिशत र एसियाली विकास बैंक (एडीबी) ले २.७ प्रतिशत मात्र वृद्धि हुने प्रक्षेपण गरेका छन्। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पनि सन् २०२६ मा नेपालको वृद्धिदर ३ प्रतिशत नकट्ने जनाएको छ ।
यस वर्ष प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १५ सय १३ अमेरिकी डलर र प्रतिव्यक्ति कुल राष्ट्रिय आय १५ सय ३५ डलर पुग्ने अनुमान छ। शको अर्थतन्त्रमा विप्रेषणको हिस्सा बढ्दै गएको छ। यस वर्ष जीडीपीको ३३.०२ प्रतिशत रकम विप्रेषणबाट प्राप्त हुने अनुमान छ, जुन गत वर्ष २७.८० प्रतिशत मात्र थियो। जीडीपीको तुलनामा निर्यात ९.९७ प्रतिशत र आयात ३४.५२ प्रतिशत रहने प्रारम्भिक अनुमान छ। अघिल्लो वर्षको तुलनामा निर्यात र आयात दुवैको हिस्सा केही बढ्ने देखिएको छ।
यस वर्ष जीडीपीको ४४.७७ प्रतिशत कुल राष्ट्रिय बचत हुने र ९०.२९ प्रतिशत अन्तिम उपभोग खर्च हुने प्रक्षेपण गरिएको छ।
उत्पादन र उपभोगको तथ्याङ्क
आर्थिक वर्ष २०८२/८३ मा आधारभूत मूल्यमा कुल उत्पादन ९९ खर्ब २२ अर्ब ९० करोड पुग्ने अनुमान छ। त्यस्तै, मध्यवर्ती उपभोग ४१ खर्ब २७ अर्ब ३२ करोड हुने देखिएको छ। स्थिर पुँजी निर्माण भने जीडीपीको २६.२६ प्रतिशत रहने कार्यालयले जनाएको छ।
सरकारको प्रक्षेपण र वैदेशिक निकायहरूको अनुमानमा केही भिन्नता देखिए पनि यो तथ्याङ्कले नेपालको अर्थतन्त्र बिस्तारै सुधारको बाटोमा रहेको सङ्केत गर्दछ। यद्यपि, महत्त्वाकांक्षी लक्ष्य भेट्टाउन भने अझै चुनौतीपूर्ण देखिन्छ।
प्रतिक्रिया दिनुहोस्