२०८३ साउन ९ , शनिबार
सकियाे एमयूकाेअन्तर्राष्ट्रिय सम्मेलन

एआई र डिजिटल रूपान्तरणमा विश्वव्यापी बहस



सुर्खेत | सुर्खेतस्थित मध्यपश्चिम विश्वविद्यालय (एमयू) मा सञ्चालित तीन दिने ‘बहुविषयगत अन्तर्राष्ट्रिय सम्मेलन–२०२६’ आइतबार भव्य रूपमा सम्पन्न भएको छ। भारतको बिरला ग्लोबल युनिभर्सिटीसँगको सहकार्यमा आयोजित यस सम्मेलनले कृत्रिम बुद्धिमत्ता (एआई) र डिजिटल रूपान्तरणको युगमा दिगो भविष्य निर्माणका लागि नयाँ मार्गचित्र प्रस्तुत गरेको छ।

सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै उपकुलपति प्रा.डा. ध्रुवकुमार गौतमले सम्मेलनमा भएका गहन छलफल र निष्कर्षहरूलाई व्यवहारमा उतार्न सरोकारवाला सबैलाई आग्रह गर्नुभयो। उहाँले विश्वविद्यालयको प्राज्ञिक विकासका लागि समूह कार्य (टिम वर्क) को महत्त्व दर्शाउँदै सम्मेलन सफल पार्न खटिने सबैलाई धन्यवाद दिनुभयो। यस्तै, रजिष्ट्रार प्रा.डा. शोभाखर कँडेलले यस ऐतिहासिक आयोजनाले विश्वविद्यालयको अन्तर्राष्ट्रिय उचाइ र गरिमा बढाएको बताउनुभयो।्

तीन दिनसम्म चलेको यस प्राज्ञिक कुम्भमेलामा विभिन्न विषयगत सत्र, अनुसन्धानपत्र प्रस्तुति र प्यानल छलफलहरू भएका थिए। सम्मेलन व्यवस्थापन समितिका संयोजक डा. यदुप्रसाद ज्ञवालीले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सम्मेलनले ज्ञानको आदानप्रदान र अनुसन्धानको स्तर वृद्धिमा नयाँ सम्भावना उजागर गरेको जानकारी दिनुभयो। बेलायतका प्रा.डा. जोनाथन रिक्स, जर्मनीकी प्रा.डा. सुसान्ने र समाज जागरण केन्द्र (स्याक) नेपालका टीकाराम आचार्य लगायतले सम्मेलन ऐतिहासिक र उपलब्धिमूलक बनेको धारणा राख्नुभएको थियो।

सम्मेलनको मुख्य आकर्षणका रूपमा रहेको ‘उपकुलपतिहरूको राउन्डटेबल’ बैठकमा देशभरका विश्वविद्यालयका नेतृत्वकर्ताहरूले विद्यमान समस्या, चुनौती र भविष्यका अवसरबारे उच्चस्तरीय मन्थन गरेका थिए। काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा.डा. अच्युतप्रसाद वाग्ले र बिरला ग्लोबल विश्वविद्यालयकी डीन प्रा.डा. अर्चना चौधरी लगायतले पनि आफ्नो धारणा राख्दै अन्तरविषयगत सहकार्यको आवश्यकतामा जोड दिनुभएको थियो।

विश्वविद्यालयका सूचना अधिकारी शेरबहादुर केसीका अनुसार एआई र विश्वव्यापी रूपान्तरणले मानव जीवनशैली, अर्थतन्त्र र शासन प्रणालीमा पारेको प्रभावलाई मध्यनजर गर्दै दिगो भविष्यका लागि यस्ता बहसहरू अपरिहार्य रहेको निष्कर्ष सम्मेलनले निकालेको छ। २१ देशका विज्ञहरूको सहभागिता रहेको यस सम्मेलनले कर्णालीको माटोबाट विश्वलाई नयाँ प्राज्ञिक सन्देश प्रवाह गर्न सफल भएको छ।

प्रकाशित मिति : २०८३ वैशाख १४ गते सोमबार