२०८३ साउन ११ , सोमबार
सुर्खेतमा सरकारी सवारीको दुरुपयोग

पास बिना गुडेका दर्जनौं सवारी नियन्त्रणमा



​सुर्खेत | सार्वजनिक बिदाको दिन अनुमति बिना सरकारी सवारी साधन चलाउने प्रवृत्ति बढेपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतले कडाइ सुरु गरेको छ। सरकारी सम्पत्तिको दुरुपयोग रोक्न र सुशासन कायम गर्न प्रहरीले आइतबार जिल्लाका विभिन्न स्थानमा विशेष निगरानी र चेकिङ सुरु गरेको हो।

​पश्चिम एसियामा जारी युद्धका कारण इन्धन आपूर्तिमा परेको संकटलाई मध्यनजर गर्दै सरकारले हप्तामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सोही निर्णयअनुसार इन्धन बचत गर्न अत्यावश्यक बाहेकका सरकारी सवारी नचलाउन निर्देशन दिइएको भए पनि सुर्खेतमा यसको अटेरी गर्ने क्रम बढेको पाइएको हो।

​जिल्ला प्रहरी कार्यालय र मातहतका इकाइहरूबाट खटिएको टोलीले आइतबार सवारी पास नलिई निजी काममा प्रयोग भइरहेका दर्जन बढी सरकारी जिप, कार र मोटरसाइकलहरूलाई सडकबाटै नियन्त्रणमा लिएको छ। बिदाको दिन अनिवार्य रूपमा लिनुपर्ने अनुमति पत्र नभएका विभिन्न सरकारी कार्यालयका सवारी साधनहरूलाई प्रहरीले एक्सनमा लिएको हो।

​जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनजंग बुढथापाका अनुसार सरकारी सम्पत्तिको दुरुपयोग रोक्न र नियमको पूर्ण पालना गराउन यो अभियान थालिएको हो। अनुमति बिना सरकारी सवारी चलाउँदा राज्यकोषमा थप भार पर्ने र यो सुशासनको बर्खिलाप हुने भएकाले प्रहरीले निगरानीलाई थप सशक्त बनाएको उहाँले बताउनुभयो। प्रहरीको यो सक्रियतापछि बिदाको दिन सरकारी गाडी लिएर व्यक्तिगत काममा निस्कने कर्मचारीहरूमा त्रास देखिएको छ।

प्रकाशित मिति : २०८३ वैशाख १३ गते आइतबार