२०८३ साउन ११ , सोमबार
निर्माण व्यवसायीकाे माग

निर्माण क्षेत्र संकट पर्याे, लागत वृद्धि समायोजन गर



सुर्खेत । कर्णाली प्रदेश निर्माण व्यवसायी महासंघले इन्धन तथा निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिका कारण कर्णाली प्रदेशको निर्माण क्षेत्र गम्भीर संकटमा परेको जनाएको छ। महासंघले एक प्रेस विज्ञप्ति जारी गर्दै बढ्दो लागतका कारण अधिकांश निर्माण आयोजनाहरू प्रभावित भएको र कतिपय काम ठप्प हुने अवस्थामा पुगेको उल्लेख गरेको छ।

महासंघका अनुसार डिजेल, पेट्रोल, फलामजन्य सामग्री, सिमेन्ट, ढुंगा–बालुवा लगायतका निर्माण सामग्रीको मूल्य निरन्तर बढिरहेको छ। यसले निर्माण व्यवसायीहरूलाई ठूलो आर्थिक भार थपिएको छ भने सरकारी दररेट तथा लागत अनुमान समयानुकूल परिमार्जन नहुँदा समस्या झन् जटिल बनेको बताइएको छ।

विज्ञप्तिमा राष्ट्रिय स्तरमै मूल्यवृद्धिको प्रभाव परिरहेको उल्लेख गर्दै निर्माण क्षेत्रलाई जोगाउन तत्काल प्रभावकारी कदम चाल्न सरकारसँग माग गरिएको छ। विशेषगरी, निर्माण सामग्रीको मूल्यअनुसार दररेट समायोजन, ठेक्का सम्झौतामा लागत वृद्धि समेट्ने व्यवस्था तथा निर्माण व्यवसायीलाई राहत दिने नीति ल्याउन आग्रह गरिएको छ।

महासंघले अहिलेको परिस्थितिमा काम सम्पन्न गर्न गाह्रो भएकाले समयमै काम सम्पन्न गर्न नसक्ने अवस्था सिर्जना भएको जनाएको छ। यसका साथै बैंक ग्यारेन्टी, बीमा तथा जरिवाना जस्ता प्रावधानले थप समस्या सिर्जना गरेको भन्दै यस्ता विषयमा सहजीकरण गर्न पनि सरकारसँग अनुरोध गरिएको छ।

महासंघका महासचिव मनोज बमले हस्ताक्षर गरेको विज्ञप्तिमा निर्माण क्षेत्रलाई आर्थिक संकटबाट जोगाउन राज्यले तत्काल पहल नगरे गम्भीर असर पर्ने चेतावनी दिइएको छ।

प्रकाशित मिति : २०८३ वैशाख १३ गते आइतबार