सुर्खेत| कर्णाली करिडोर सडकखण्डअन्तर्गत बाजुरा र कालिकोटको सिमानामा पर्ने लौखूडाँडामा आइतबार बिहान स्काभेटर दुर्घटना हुँदा एक युवक बेपत्ता भएका छन्। नयाँ सडक निर्माणका क्रममा थुप्रिएको माटो पन्छाउन जाँदै गरेको स्काभेटर सडकबाट करिब २ सय मिटर तल भीरमा खसेको हो।
दुर्घटनामा कालिकोटको नरहरिनाथ गाउँपालिका–२ का १८ वर्षीय महेश रावल बेपत्ता भएका हुन्। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार प्रदेश ३–०१–००३ क ६३११ नम्बरको उक्त स्काभेटरमा चालक र सहचालकसहित तीन जना सवार थिए। दुर्घटनामा चालक २५ वर्षीय केशव विष्ट र सहचालक भने सकुशल रहन सफल भएका छन्।
नयाँ निर्माण भइरहेको लौखु जिरो पोइन्ट–कोल्टी सडकबाट खसेको माटोले कर्णाली करिडोर अवरुद्ध भएपछि त्यसलाई खुलाउन जाने क्रममा यो दुर्घटना भएको हो। बेपत्ता रावलको खोजीका लागि नेपाल प्रहरी र नेपाली सेनाको टोली तत्काल घटनास्थलमा खटिएको छ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक इकवाल हवारीका अनुसार दुर्घटना भएको भीर अत्यन्तै कठिन र जोखिमपूर्ण भएकाले बेपत्ताको खोजी एवं उद्धार कार्यमा निकै समस्या भइरहेको छ। भौगोलिक विकटताका बाबजुद सुरक्षा निकायले खोजी कार्यलाई निरन्तरता दिइरहेका छन्।
प्रतिक्रिया दिनुहोस्