२०८३ साउन १० , आइतबार
एमयूको अन्तर्राष्ट्रिय सम्मेलन

२१ देशका विज्ञहरू एउटै मञ्चमा



​सुर्खेत | कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा अवस्थित मध्यपश्चिम विश्वविद्यालय (एमयू) मा शुक्रबारदेखि तीन दिने ‘बहुविषयमा अन्तर्राष्ट्रिय सम्मेलन–२०२६’ भव्य रूपमा सुरु भएको छ। भारतको बिरला ग्लोबल युनिभर्सिटीसँगको सहकार्यमा आयोजित यो सम्मेलन वैशाख ११ देखि १३ गतेसम्म सञ्चालन हुनेछ।

​‘एआई (कृत्रिम बुद्धिमत्ता) र डिजिटल रूपान्तरणको युगमा दिगो भविष्यका लागि अन्तरविषयगत समन्वय’ भन्ने मूल नाराका साथ सुरु भएको यस सम्मेलनले नेपालको उच्च शिक्षा, अनुसन्धान संस्कृति र अन्तर्राष्ट्रिय सहकार्यलाई एउटै साझा मञ्चमा जोड्ने प्रयास गरेको छ। विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशनालयका कार्यकारी निर्देशक डा. यदुप्रसाद ज्ञावलीका अनुसार सम्मेलनको मुख्य उद्देश्य प्रविधि, शासन, अर्थतन्त्र र समाजका जटिल समस्याहरूलाई आधुनिक दृष्टिकोणबाट विश्लेषण गरी प्रमाणमा आधारित नीति निर्माणका लागि सिफारिस गर्नु हो।

​सम्मेलनमा विशेषगरी सात वटा प्रमुख विधामा केन्द्रित रहेर छलफल र अनुसन्धानपत्रहरू प्रस्तुत भइरहेका छन्। जसमा कृषि, वातावरण तथा खाद्य सुरक्षा, शिक्षा तथा मानव विकास, कानुन र सुशासन, व्यवस्थापन तथा उद्यमशीलता, स्वास्थ्य, विज्ञान र प्रविधि, एवं सामाजिक विज्ञान जस्ता महत्त्वपूर्ण क्षेत्रहरू समेटिएका छन्। तीन दिनको अवधिमा यी विषयहरूमा ३४४ भन्दा बढी अनुसन्धानपत्रहरू प्रस्तुत गरिनेछ।

​विश्वस्तरका वक्ताहरूको सहभागिता रहेको यस सम्मेलनमा २१ देशको प्रतिनिधित्व र ५०० भन्दा बढी विज्ञहरूको उपस्थिति रहेको छ। सम्मेलनका दौरान विभिन्न विश्वविद्यालयका उपकुलपतिहरूको ‘राउन्ड टेबल’ बैठक र डायस्पोरासम्बन्धी आर्थिक उद्यमशीलताका विषयमा समेत गम्भीर छलफल हुने कार्यक्रम छ। यसले कर्णालीको प्राज्ञिक उचाइ बढाउनुका साथै अन्तर्राष्ट्रिय स्तरको अनुसन्धान र साझेदारी विस्तारमा नयाँ आयाम थप्ने विश्वास लिइएको छ।

प्रकाशित मिति : २०८३ वैशाख १२ गते शनिबार