सुर्खेत । बाँकेको कोहलपुरदेखि सुर्खेत हुँदै दैलेखको चुप्रासम्म विस्तार हुने १३२ केभी प्रसारण लाइन आयोजनाको निर्माण कार्यले पछिल्लो समय तीव्रता पाएको छ। कर्णालीबासीले भोग्दै आएको न्यून भोल्टेज र अनियमित विद्युत् आपूर्तिको समस्या समाधान गर्ने लक्ष्यका साथ आयोजनाको कामलाई धमाधम अघि बढाइएको हो।
आयोजना अन्तर्गत सुर्खेतको सुब्बाकुनादेखि दैलेखको चुप्रासम्म कुल १०१ वटा टावर निर्माण गर्नुपर्नेमा हालसम्म ७० वटा टावरको जग (फाउन्डेसन) खन्ने काम भइरहेको छ। कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाका प्रशासन प्रमुख युवराज विष्टका अनुसार तीमध्ये २५ वटा टावरको निर्माण कार्य पूर्ण रूपमा सम्पन्न भइसकेको छ। दैलेख खण्डमा रुख कटानका विषयमा नेपाल सरकार मन्त्रिपरिषद्ले चाँडै निर्णय गरिदिए बाँकी काम तोकिएकै समयमा सकिने आयोजनाको अपेक्षा छ।
लामो समयदेखि थाती रहेको जग्गा प्राप्तिको विवाद सुल्झिँदै गएपछि सुर्खेत क्षेत्रमा पनि कामले गति लिएको छ। हालसम्म सुर्खेत र दैलेख खण्डमा करिब ५० प्रतिशत भौतिक प्रगति भएको जनाइएको छ। दैलेखमा १०१ टावरमध्ये ५६ वटा निर्माण हुनेछन्, जसका लागि ४६ जना स्थानीयको ६ हजार ९०२ वर्गमिटर जग्गा अधिग्रहणको प्रक्रिया सम्पन्न भइसकेको छ। बाँकी ४५ वटा टावर सुर्खेत खण्डमा निर्माण गरिनेछन्।

कर्णालीका उपभोक्ताहरू हिउँदमा ‘लो भोल्टेज’ र बर्खामा हावाहुरीका कारण हुने लाइन अवरोधबाट आजित छन्। पुराना र जीर्ण संरचनाका कारण विद्युत् वितरण प्रणाली अव्यवस्थित भइरहेका बेला करिब ८५ करोड रुपैयाँ लागतको यो आयोजना सञ्चालनमा आएपछि कर्णालीमा गुणस्तरीय र भरपर्दो विद्युत् सेवा पुग्ने विश्वास गरिएको छ। प्रसारण लाइनसँगै दैलेखको चुप्रामा सबस्टेसन निर्माणको काम पनि अहिले अन्तिम चरणमा पुगेको छ
प्रतिक्रिया दिनुहोस्