२०८३ साउन ११ , सोमबार
चिङ्गाडको केन्द्र विवादमा 'ब्रेक थ्रु'

राजीकुनाबाट प्रशासनिक सेवा, ढाडखेतमा केन्द्र तोक्ने सहमति



सुर्खेत । लामो समयदेखि विवादित बनेको सुर्खेतको चिङ्गाड गाउँपालिकाको केन्द्रको विषय अन्ततः सर्वपक्षीय सहमतिबाट सुल्झिएको छ। जनप्रतिनिधि, राजनीतिक दल र सरोकारवालाहरूबीच बिहीबार भएको घनिभूत छलफल र परामर्शपछि हालसम्म वडा नं. ५ को अवलचिङ्गबाट प्रवाह भइरहेको प्रशासनिक सेवा अब वडा नं. २ स्थित राजीकुनाबाट सञ्चालन गर्ने सहमति जुटेको हो। बैठकले गत चैत २६ गतेको गाउँसभाले सामुदायिक भवन राजीकुनाबाट कामकाज सुरु गर्ने गरेको निर्णयलाई सदर गर्दै पालिकाको स्थायी केन्द्र भने चिङ्गाड–५ को ढाडखेत कायम गर्ने ऐतिहासिक सहमति गरेको छ।

गाउँपालिका अध्यक्ष बोधविक्रम जिसीका अनुसार केन्द्र विवादका कारण खलबलिएको शान्ति सुरक्षा र प्रशासनिक गतिरोधलाई अन्त्य गर्न यो मध्यमार्गी बाटो अपनाइएको हो। सहमति अनुसार अब ढाडखेतमा जग्गा व्यवस्थापनका लागि पालिका अध्यक्षकै संयोजकत्वमा एक टोली निर्माण गरी आवश्यक प्रक्रिया अघि बढाइनेछ। यो निर्णयलाई कार्यपालिका हुँदै आगामी गाउँसभाबाट अनुमोदन गराइनेछ भने केन्द्र सम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दाका निवेदकहरूलाई आफ्नो दाबी फिर्ता लिन लगाउने जिम्मेवारी समेत बाँडफाँट गरिएको छ।

यसअघि २०७५ माघ ७ गते गाउँसभाको दुईतिहाइ बहुमतले वडा नं. २ स्थित पुङ खेतलाई केन्द्र तोकेको थियो, जसलाई नेपाल सरकारको मन्त्रिपरिषद्ले २०७८ साउन ११ मा राजपत्रमा सूचना प्रकाशन गरी वैधानिकता दिएको थियो। तर, अवलचिङ्गमै केन्द्र हुनुपर्ने पक्षले सर्वोच्चमा रिट दिएपछि यो प्रक्रिया अन्योलमा परेको थियो। अध्यक्षसहितका जनप्रतिनिधि राजीकुनाको पक्षमा र अर्को पक्ष यथास्थितिको पक्षमा उभिँदा एक सातादेखि पालिकाको कामकाज ठप्प भई सेवाग्राहीले चरम सास्ती भोग्दै आएका थिए। यो नयाँ सहमतिसँगै अब पुङ खेत क्षेत्रबाट सेवा सञ्चालन हुने भएपछि चिङ्गाडमा लामो समयदेखिको अन्योल हटेको छ।

प्रकाशित मिति : २०८३ वैशाख ११ गते शुक्रबार