सुर्खेत । नेपाल टेलिकमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कर्णाली प्रदेशका तीनवटा दुर्गम सामुदायिक विद्यालयहरूमा सूचना सञ्चार प्रविधि ल्याब (आईसीटी ल्याब) स्थापना गरेको छ। टेलिकमले जुम्लाको चन्दननाथ नगरपालिकास्थित श्री जनज्योति माध्यमिक विद्यालय, जाजरकोटको छेडागाड नगरपालिकास्थित श्री बागेश्वरी माध्यमिक विद्यालय र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकास्थित श्री बाल कल्याण माध्यमिक विद्यालयलाई ल्याब सञ्चालनका लागि आवश्यक सम्पूर्ण प्राविधिक सामग्रीहरू हस्तान्तरण गरेको हो। डिजिटल शिक्षाको पहुँच विस्तार गर्ने उद्देश्यले प्रति विद्यालय १२ थान कम्प्युटर, एउटा प्रिन्टर, युपीएस, १२ वटा ब्याट्री ब्याकअप, एपी राउटर, एक्सटेन्सन कर्ड र १२ वटा एन्टिभाइरस सफ्टवेयर उपलब्ध गराइएको छ।

नेपाल टेलिकम कर्णाली प्रादेशिक कार्यालय सुर्खेतका सहायक व्यापार अधिकृत अनिल ढकालका अनुसार आधुनिक जमानामा प्राविधिक शिक्षाको महत्वलाई मध्यनजर गर्दै पिछडिएको क्षेत्रका गरिब तथा जेहेन्दार विद्यार्थीहरूको ज्ञान र क्षमता अभिवृद्धिका लागि यो सहयोग गरिएको हो। ल्याब सामग्रीका साथै विद्यार्थीहरूलाई शैक्षिक सामग्री र झोला समेत वितरण गरिएको छ। आईसीटी ल्याबको सञ्चालनले विद्यार्थीहरूमा सूचना प्रविधिप्रतिको लगाव बढ्ने र उनीहरूलाई प्रतिस्पर्धी बन्न मद्दत पुग्ने विश्वास टेलिकमले लिएको छ।
यसैगरी टेलिकमले शैक्षिक क्षेत्रबाहेक अन्य सामाजिक र पर्यटकीय पूर्वाधार निर्माणमा पनि आफ्नो सक्रियता बढाएको छ। सुर्खेतको मंगलगढी चोक र दैलेखको गुराँसेमा यात्री प्रतीक्षालय निर्माण गर्ने योजना अघि बढाइएको छ भने सुर्खेतको पर्यटकीय स्थल कटकुवामा सेल्फी स्ट्यान्ड निर्माणको प्रक्रिया समेत सुरु भइसकेको छ। टेलिकमका प्रशासन तथा व्यापार शाखा प्रमुख रामप्रसाद लिगलका अनुसार वीरेन्द्रनगरको कालिका मन्दिरदेखि कपासे-कटकुवा जाने बाटोमा यात्रीहरूको विश्रामका लागि १० वटा बेन्च निर्माण गरिनेछ। यसका साथै वृद्धाश्रम र अनाथालयहरूमा लत्ताकपडा तथा खाद्यान्न वितरण जस्ता मानवीय सेवाका कार्यहरूलाई पनि कम्पनीले निरन्तरता दिने योजना बनाएको छ।
प्रतिक्रिया दिनुहोस्