२०८३ साउन ११ , सोमबार
गोप्य सूचनाका आधारमा प्रहरीको छापा

बराहतालमा अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ



सुर्खेतको बराहताल गाउँपालिका–४ बाट अवैध भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। अस्थायी प्रहरी पोस्ट तरंगा र इलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको संयुक्त टोलीले स्थानीय ५३ वर्षीय शेरबहादुर रानालाई पक्राउ गरेको हो। गोप्य सूचनाका आधारमा उनको घरमा खानतलासी गर्दा लुकाइछिपाइ राखिएको अवस्थामा एक थान भरुवा बन्दुक बरामद भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

अवैध हतियार राखेको अभियोगमा पक्राउ परेका रानालाई हाल प्रहरी हिरासतमा राखिएको छ। उनीमाथि हातहतियार तथा खरखजना सम्बन्धी कसुर अन्तर्गत थप कानुनी कारबाही र अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ। पछिल्लो समय ग्रामीण भेगमा हुन सक्ने आपराधिक गतिविधि र अवैध हतियारको प्रयोगलाई रोक्न प्रहरीले सक्रियता बढाएको छ।

प्रकाशित मिति : २०८३ वैशाख ११ गते शुक्रबार