२०८३ वैशाख १० , बिहीबार
स्थानीय विद्यार्थीलाइ छात्रवृत्ति

मध्यपश्चिम विश्वविद्यालय र वीरेन्द्रनगरबीच २ करोडको अक्षयकोष स्थापना 



सुर्खेत । सुर्खेतस्थित मध्यपश्चिम विश्वविद्यालय र वीरेन्द्रनगर नगरपालिकाबीच उच्च शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले ‘उच्च शिक्षा शैक्षिक छात्रवृत्ति अक्षयकोष २०८३’ सम्बन्धी ऐतिहासिक सम्झौता भएको छ। बिहीबार आयोजित एक विशेष समारोहका बीच नगरपालिकाका तर्फबाट नगर प्रमुख मोहनमाया ढकाल र विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतमले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो। स्थानीय सरकार र प्राज्ञिक संस्थाबीचको यो सहकार्यले कर्णालीको शैक्षिक विकासमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।

सम्झौता अनुसार कूल २ करोड २ लाख २ हजार २ सय २ रुपैयाँ राशिको अक्षयकोष स्थापना गरिएको छ। यस कोषबाट प्राप्त हुने ब्याज वा निश्चित रकममार्फत वीरेन्द्रनगर क्षेत्रका जेहेन्दार, विपन्न र पिछडिएका विद्यार्थीहरूलाई विश्वविद्यालयमा उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिनेछ। विश्वविद्यालयले आफ्नो स्थायी कोष (Endowment Fund) निर्माण गर्ने कार्यविधि पास गरेसँगै समुदाय र स्थानीय सरकारसँगको साझेदारीलाई तीव्रता दिएको हो।

नगर प्रमुख मोहनमाया ढकालले प्रदेश राजधानीको नगरपालिका हुनुका नाताले र स्थानीय सरकारको अभिभावकत्व महसुस गर्दै विश्वविद्यालयसँग साझेदारी गरिएको बताउनुभयो। “स्थानीय सरकारले विद्यालय शिक्षा मात्र होइन, उच्च शिक्षाको दायित्व पनि वहन गर्नुपर्छ भन्ने हेतुले यो अक्षयकोष स्थापना गरेका हौँ,” उहाँले भन्नुभयो। यस्तै, उपकुलपति प्रा. डा. गौतमले आफ्नो नेतृत्वकालमा विश्वविद्यालयलाई समुदायसँग जोड्ने लक्ष्य अनुसार यो ठूलो उपलब्धी भएको उल्लेख गर्नुभयो।

योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा. विष्णुकुमार खड्काले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा नगर उपप्रमुख निलकण्ठ खनाल, विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा. डा. पन्ना थापा, र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद बाँस्कोटा लगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। यसैगरी विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, विश्वविद्यालयका डीनहरू, प्राध्यापक तथा स्ववियु प्रतिनिधिको सहभागिताले कार्यक्रमलाई थप महत्व दिएको थियो।

प्रकाशित मिति : २०८३ वैशाख १० गते बिहीबार