२०८३ वैशाख १० , बिहीबार
सुर्खेतमा प्रहरीको 'स्विप अप्रेसन'

२८ जना पक्राउ, १९४ ग्राम चरेससहित शाही दम्पती समातिए



सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध नियन्त्रण तथा आपराधिक गतिविधि न्यूनीकरणका लागि सुरु गरेको विशेष अभियान अन्तर्गत एकै दिन २८ जनालाई नियन्त्रणमा लिएको छ। २०८३ वैशाख १० गते वीरेन्द्रनगर नगरपालिकाका विभिन्न संवेदनशील क्षेत्रहरूबाट लागुऔषध सेवन गर्ने, सार्वजनिक स्थानमा झैझगडा गर्ने र लागुऔषध कारोबारमा संलग्न रहेको आशङ्का गरिएका व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा २७ जना पुरुष र १ जना महिला रहेका छन्।

यसै अभियानका क्रममा प्रहरीले ठुलो परिमाणमा लागुऔषध चरेस समेत बरामद गरेको छ। चौकुने गाउँपालिका–७ घर भई हाल वीरेन्द्रनगर–८ बस्दै आएका ३६ वर्षीय सर्जन शाही र ३५ वर्षीया दुर्गा शाहीको साथबाट १९४ ग्राम चरेस जस्तो देखिने कालो पदार्थ फेला परेको हो। प्रहरीले उनीहरूलाई लागुऔषध ओसारपसार र बिक्री वितरणमा संलग्न रहेको आशङ्कामा नियन्त्रणमा लिएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (DSP) मोहनजंग बुढथापाले नियन्त्रणमा लिइएका सबैमाथि सूक्ष्म निगरानी र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो। “वीरेन्द्रनगरलाई लागुऔषधमुक्त बनाउन र शंकास्पद गतिविधि नियन्त्रण गर्न यो अभियानलाई निरन्तरता दिइनेछ,” उहाँले बताउनुभयो। पक्राउ परेकामध्ये सेवनकर्ताहरूलाई परामर्श र कारोबारमा संलग्न देखिएकाहरूलाई लागुऔषध नियन्त्रण ऐन अनुसार मुद्दा चलाउने प्रहरीको तयारी छ।

प्रकाशित मिति : २०८३ वैशाख १० गते बिहीबार