सुर्खेत । कर्णाली प्रदेशसभा सचिवालयको रिक्त सचिव पदको जिम्मेवारी वरिष्ठ उपसचिव नेत्रबहादुर कार्कीले पाउनुभएको छ। प्रदेशसभा सचिव जीवराज बुढाथोकीले उमेर हदका कारण राजीनामा दिएपछि रिक्त रहेको उक्त पदमा सभामुख नन्दा गुरुङले कार्कीलाई नियुक्त गर्नुभएको हो।

प्रदेशसभाको कामकाजमा सहजता ल्याउन सभामुख गुरुङले सचिवालयका अधिकृतस्तर दशौँका कर्मचारी कार्कीलाई अर्को व्यवस्था नभएसम्मका लागि सो जिम्मेवारी सुम्पिनुभएको हो। कार्कीलाई कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम २१५ बमोजिम सचिवले सम्पादन गर्ने सम्पूर्ण कार्यहरू गर्ने अधिकार दिइएको छ।
लामो समयदेखि सचिवालयमा कार्यरत कार्कीलाई अनुभवी कर्मचारीका रूपमा लिइन्छ। यसअघिका सचिव बुढाथोकीले आफ्नो उमेर हद पूरा भएपछि पदबाट राजीनामा दिएका थिए, जसका कारण केही समयदेखि सचिवालयको प्रशासनिक नेतृत्व रिक्त रहेको थियो। यो नयाँ जिम्मेवारीसँगै अब प्रदेशसभाका प्रशासनिक तथा व्यवस्थापकीय कार्यहरूले गति लिने विश्वास गरिएको छ।
प्रतिक्रिया दिनुहोस्