२०८३ वैशाख १० , बिहीबार
कर्णालीका ५ स्थानीय तहद्वारा केन्द्रको निर्णय अस्वीकार

आइतबार बिदा नहुने, भर्ना अभियान पनि छिट्टै



सुर्खेत | सङ्घीय सरकारले वैशाख १५ गतेदेखि भर्ना अभियान र २१ गतेदेखि पठनपाठन सुरु गर्ने निर्णय गरे पनि कर्णालीका पाँच स्थानीय तहले भने उक्त समय अगावै विद्यालय सञ्चालन गर्ने भएका छन्। संविधानले माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिएको आधारमा डोल्पा र जुम्लाका पाँच पालिकाले केन्द्रको समय तालिका र आइतबारको सार्वजनिक बिदा दुवै कार्यान्वयन नगर्ने घोषणा गरेका हुन्।

हिउँदमा लामो बिदा हुने हिमाली जिल्लाहरूमा हप्ताको दुई दिन बिदा दिँदा वार्षिक पाठ्यभार पूरा गर्न नसकिने पालिकाहरूको निष्कर्ष छ। डोल्पाको मुड्केचुला गाउँपालिकाले आइतबार बिदा दिँदा पाठ्यक्रम पूरा नहुने भन्दै १५ वैशाख नपर्खी विद्यालय सञ्चालन गर्न निर्देशन दिइसकेको छ। त्यस्तै, ठूलीभेरी नगरपालिकाले वैशाख ८ देखि ११ सम्म भर्ना अभियान चलाएर १३ गतेबाटै कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ भने काइके गाउँपालिकाले पनि आइतबार विद्यालय खोल्ने निर्णयलाई सदर गरेको छ।

जुम्लाका पालिकाहरूमा पनि उस्तै अभ्यास देखिएको छ। कनकासुन्दरी गाउँपालिकाले वैशाख ७ बाटै भर्ना अभियान सुरु गरिसकेको छ भने तातोपानी गाउँपालिकाले २९ वटै सामुदायिक विद्यालयमा आइतबार बिदा नदिने निर्णय गरेको छ। तातोपानीले वैशाख १५ बाटै नियमित पठनपाठन सुरु गर्ने तयारी थालेको छ। हिमाली क्षेत्रको विशिष्ट भौगोलिक र मौसमी अवस्थाका कारण सङ्घीय सरकारको निर्णय व्यवहारिक नभएको जनप्रतिनिधिहरूको तर्क छ।

यसैबीच, प्रदेश राजधानी सुर्खेतको अमरज्योति नमुना माविले पनि कक्षा ११ को कोर्स पूरा नभएकाले हाल पठनपाठन जारी राखेको छ। यसरी केन्द्रको शैक्षिक क्यालेन्डर र बिदाको निर्णयलाई स्थानीय आवश्यकता र संवैधानिक अधिकारको हवाला दिँदै कर्णालीका पालिकाहरूले आफ्नो अनुकूलतामा कार्यान्वयन गर्न थालेका छन्।

प्रकाशित मिति : २०८३ वैशाख १० गते बिहीबार