२०८३ वैशाख १० , बिहीबार
कर्णालीका दुई सडक 'राष्ट्रिय प्राथमिकता'मा सिफारिस

सवारी तथा यातायात नियमावली स्वीकृत



सुर्खेत | कर्णाली प्रदेश सरकारले प्रदेशका दुई महत्त्वपूर्ण सडक आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा समावेश गर्न केन्द्र सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सडक पूर्वाधारको विकासलाई तीव्रता दिने लक्ष्यका साथ यो निर्णय गरेको हो।

प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहका अनुसार दैलेखदेखि कालीकोटको महाबै गाउँपालिकाको केन्द्र जोड्ने सडकलाई प्रादेशिक प्राथमिकतामा राख्दै राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा समावेश गर्न राष्ट्रिय योजना आयोगलाई सिफारिस गरिनेछ। यस सडकले विकट क्षेत्रको पहुँचलाई सहज बनाउने विश्वास लिइएको छ।

त्यसैगरी, जाजरकोटको ‘वडावन–सानाखोला सडक’लाई पनि प्रादेशिक प्राथमिकतामा समेटेर राष्ट्रिय गौरव वा प्राथमिकता प्राप्त आयोजनाका रूपमा अघि बढाउन सिफारिस गर्ने निर्णय बैठकले गरेको छ। यी दुई सडकले कर्णालीको आन्तरिक सडक सञ्जाललाई राष्ट्रिय मूल प्रवाहसँग जोड्न महत्त्वपूर्ण भूमिका खेल्ने मन्त्री शाहले बताउनुभयो।

सडक आयोजनाका साथै मन्त्रिपरिषद् बैठकले ‘कर्णाली प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली, २०८२’ लाई समेत स्वीकृत गरेको छ। यो नियमावली पारित भएसँगै प्रदेशभित्रको यातायात व्यवस्थापन, सवारी दर्ता तथा नवीकरण र यातायात सेवालाई थप व्यवस्थित र कानुनसम्मत बनाउने बाटो खुलेको छ।

प्रकाशित मिति : २०८३ वैशाख ९ गते बुधबार