२०८३ वैशाख १० , बिहीबार
मदन भण्डारी राजमार्गले फेरियो सुर्खेतको यात्रा

काठमाडौँ र दाङ जाने दुरी ४५ किलोमिटर छोटियो



सुर्खेत | पूर्वी सुर्खेतमा मदन भण्डारी राजमार्गको स्तरोन्नतिसँगै कर्णालीबासीका लागि लुम्बिनी र बागमती प्रदेशको यात्रा निकै सहज र छोटो बनेको छ। विगतमा दाङ, तुलसीपुर र काठमाडौँ जानका लागि बाँकेको कोहलपुर पुग्नुपर्ने बाध्यता रहेकामा अहिले सुर्खेतको वीरेन्द्रनगरबाट सिधै मदन भण्डारी राजमार्ग हुँदै जान सकिने भएको हो।

सडक डिभिजन कार्यालय सुर्खेतका अनुसार कोहलपुरको बाटो प्रयोग गर्दा १९७ किलोमिटर पार गर्नुपर्थ्यो भने अहिले यो राजमार्ग हुँदै जाँदा यात्रा मात्र १५३ किलोमिटरमा झरेको छ। इन्जिनियर रेशम वलीका अनुसार मदन भण्डारी राजमार्गले साविकको बाटोभन्दा करिब ४५ किलोमिटर दुरी कम गराएको छ। धुलियाबिटदेखि भेडाबारी खण्ड कालोपत्रे भएसँगै अहिले साना तथा ठूला सवारी साधनहरू सिधै दाङको लमही निस्कन थालेका छन्।

राजमार्गको स्तरोन्नतिले यातायात व्यवसायी र यात्रु दुवैलाई ठूलो राहत मिलेको छ। सुर्खेत काँक्रेबिहार यातायात प्रालिका अनुसार दुरी छोटिँदा एउटै गाडीले करिब २० लिटर इन्धन बचत गर्न थालेका छन्। हाल वीरेन्द्रनगरबाट काठमाडौँका लागि दैनिक बसहरू यही मार्ग भएर छुट्न थालेका छन् भने दाङ, सल्यान र रुकुमका लागि पनि सिधा यातायात सम्पर्क जोडिएको छ।

विगतमा जीर्ण अवस्थामा रहेको यो सडकलाई मदन भण्डारी राजमार्गमा नामकरण गरेपछि निर्माण कार्यले तीव्रता पाएको हो। व्यवसायीहरूका अनुसार कोहलपुरको बाटो यात्रु थप्नका लागि फाइदाजनक भए पनि छिटो र सहज यात्राका लागि भने मदन भण्डारी राजमार्ग नै यात्रुहरूको पहिलो रोजाइमा पर्न थालेको छ। दुरी छोटिएसँगै समय र खर्च दुवैको बचत हुनुले यस क्षेत्रको आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने देखिएको छ।

प्रकाशित मिति : २०८३ वैशाख ९ गते बुधबार